काठमाडौं । शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा शुक्रबार बिहान भएको हत्याकाण्डबारे थप तथ्यहरू बाहिर आएका छन् । प्रहरीका अनुसार कुटपिटबाट मृत्यु भएका युवक र आक्रमणमा संलग्नमध्ये एक जना अघिल्लो रात सँगै बाहिर गएका थिए ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको होस्टलभित्र भएको कुटपिटमा मृत्यु भएको थियो । कुटपिटमा संलग्न दुईमध्ये एक जना कालाथोकीसँगै राति ‘रमाइलो गर्न’ भन्दै होस्टलबाट बाहिर निस्किएको खुलेको छ ।
प्रहरीको प्रारम्भिक विश्लेषणअनुसार उनीहरू मध्यरात वा शुक्रबार बिहान होस्टल फर्किएका थिए । होस्टल फर्किएलगत्तै कालाथोकी र उनीहरूबीच कुनै विषयमा विवाद भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेल प्रहरी नियन्त्रणमा छन् ।
मृतक कालाथोकीको निधारमा चोट देखिएको छ । प्रारम्भिक रूपमा धारिलो हतियार प्रहारबाट चोट लागेको अनुमान गरिए पनि घटनास्थलबाट हालसम्म त्यस्तो कुनै हतियार फेला परेको छैन ।
जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार कालाथोकीको निधारमा देखिएको चोट धारिलो हतियारले नभई टी–टेबल उचालेर प्रहार गर्दा लागेको हुनसक्ने सम्भावना पनि छ ।
होस्टलमा एउटै कोठामा चार–पाँच जनासम्म बस्ने गरेका छन् । बिहीबार राति कालाथोकी र अर्का एक युवक मात्रै कोठाबाट बाहिर निस्किएका थिए । बिहान फर्किएपछि उनीहरूबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कुटपिटका क्रममा कालाथोकीको निधारबाट रगत बगेपछि एक जनाले उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएका थिए । प्रहरी घटनास्थलमा पुग्दा एक जना आरोपी त्यहीँ फेला परेका थिए भने अर्कालाई अस्पतालबाट भाग्ने क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





