काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशन स्थगित भएको छ । नेता बंशलाल तामाङ पक्षले मतदानमा धाँधली भएको भन्दै विवाद गरेपछि अधिवेशन स्थगित गरिएको हो ।
सिन्धुपाल्चोक–२ मा कृष्णकुमार तामाङ र पासाङ दोङ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । उनीहरू प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
पासाङको पक्षमा रहेका नेता बंशलाल तामाङले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले मतपेटिकामा खुट्टाले प्रहार गरेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
भिडियोमा बंशलालले मतपेटिकामा लात हान्दै ‘यस्तो अधिवेशन नि हुन्छ ? सबै सिग्नेचर नभएको…’ भन्दै गरेको सुनिन्छ ।
अधिवेशनस्थलमा रहेका एक महाधिवेशन प्रतिनिधिका आकांक्षीका अनुसार मतदानका क्रममा फर्जी मतपत्र प्रयोग भएको भन्दै विवाद भएपछि अधिवेशन स्थगित गरिएको हो ।





