विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन जारी रहँदा कतिपय क्षेत्रमा उत्साहजनक रूपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा विवाद र झडपको स्थिति बनेको छ।
वडा र पालिका अधिवेशन सम्पन्न भई क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि चयनका लागि सुरु भएको क्षेत्रीय अधिवेशनमा कतिपय स्थानमा सभापति र महाधिवेशन प्रतिनिधिको विषयलाई लिएर विवाद भएको हो।
विवादका कारण सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा दुई पक्षबीच कुटाकुट भएको छ भने मोरङ–१ मा हातहालाहालको अवस्था सिर्जना भएको छ। मोरङ–६ मा भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार घाइते भएका छन्। झडपपछि त्यहाँको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
सुनसरी–४ को अधिवेशनका क्रममा क्षेत्रीय सभापति ऐयुब अन्सारीमाथि हातपात भएको छ। निर्वाचन प्रक्रिया चलिरहँदा दुई पक्षबीच झडप भएपछि निर्वाचन स्थगित गरिएको हो। करिब ७० प्रतिशत मतदान सम्पन्न भइसकेपछि झडप भएपछि प्रहरीले मतपेटिका नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखेको छ।
यस्तै, मोरङ–१ को क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच मञ्चमै चर्काचर्की भएको छ। विवादकै बीच एक पक्षले मनोज त्रमुकलाई सभापतिमा विजयी घोषणा गरे पनि देवराज पक्षले उक्त घोषणालाई अस्वीकार गरेको छ।
कहाँ-कहाँ रोकियो अधिवेशन ?
विवाद र झडपका कारण मोरङ–६ को अधिवेशन रोकिएको छ। मोरङ–६ मा चुमनारायण तबदार र जितनारायण थापा सभापतिका आकांक्षी छन्।
यता, सुनसरी–२ मा पनि अहिलेसम्म अधिवेशन सम्पन्न हुन सकेको छैन। त्यहाँ सुदीप अधिकारी र राजन मेहता सभापतिका दाबेदार छन्। दुवैले अडान नछाड्दा सहमति जुट्न नसकेको हो। त्यहाँ अधिकांश पुराना नेताहरू मेहताको पक्षमा र युवाहरू अधिकारीको पक्षमा देखिएका छन्।
मोरङ–३ मा भने मतदान प्रक्रिया जारी छ। सो क्षेत्रमा वर्तमान क्षेत्रीय सचिव राजेन्द्र अधिकारी र राजेन्द्र ढकालबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
सुनसरी र मोरङमा कहाँ को निर्वाचित भए ?
- सुनसरी–१ : तिलक कार्की क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी विनोद आलेलाई पराजित गरे।
- सुनसरी–३ : दीपक ढकाल क्षेत्रीय सभापति बनेका छन्। उनले कुमारजङ्ग थापालाई पराजित गरे।
- मोरङ–२ : देवेन्द्रबहादुर बस्नेत र महेश्वरप्रसाद राजवंशीलाई पराजित गर्दै यज्ञ कार्की क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
- मोरङ–४ : विद्यानन्द माझीलाई पराजित गर्दै विनोद बस्नेत क्षेत्रीय सभापतिमा विजयी भएका छन्।
- मोरङ–५ : क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको छ। यहाँ जीवछप्रसाद गच्छदार निर्विरोध क्षेत्रीय सभापति बनेका छन्।
झापाका पाँचै क्षेत्रमा अधिवेशन सम्पन्न
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ। झापा–२ मा सर्वसम्मत र बाँकी चार क्षेत्रमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
- झापा–१ : इन्द्र बुढाथोकी ४१४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी सुवेशकुमार पनेरुले २०१ मत प्राप्त गरे।
- झापा–२ : हेमराज खरेल निर्विरोध क्षेत्रीय सभापति चयन भए।
- झापा–३ : गीताप्रसाद भट्टराई ३४० मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी राम दुलालले २६९ मत पाए।
- झापा–४ : परशुराम ढुङ्गाना ४३३ मत ल्याएर क्षेत्रीय सभापतिमा निर्वाचित भए।
- झापा–५ : रवि केसी न्यौपाने ४४१ मतसहित सभापतिमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी रोशन विष्टले ४२१ मत प्राप्त गरे।





