काठमाडौँ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।
देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको र आयोगमा दर्ता भएको नेता एनपी साउदले जानकारी दिएका छन्।
निर्वाचन आयोगले पनि देउवा समूहको महाधिवेशनको कार्यतालिकासम्बन्धी पत्र मंगलबार प्राप्त भएको जनाएको छ। पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मङ्सिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख गरिएको छ।
नेता साउदका अनुसार महाधिवेशन गर्न लागेको जानकारीसहित तिथिमिति र अन्य विवरण खुलाएर आयोगमा पत्र दर्ता गरिएको हो।
देउवा समूहले असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
त्यसपछि मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका समूहले सार्वजनिक गरेको छ।
कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अघि बढाइएको छ। संस्थापन पक्षले यसअघि असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने त्यसविरुद्ध देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो।
कांग्रेसमा पार्टीको आधिकारिकताका विषयमा विवाद रहेको छ।





