सह–पाइलटको आक्रमणपछि विमान आकस्मिक अवतरण, भारतीय पाइलटसहित यात्रुको नेतान्याहुद्वारा प्रशंसा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमानलाई नियन्त्रणमा लिएर सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय पाइलट तथा यात्रुको प्रशंसा गरेका छन्।

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबाई विमानका सह–पाइलटले अर्का पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटभित्र करिब १७ हजार फिट तल झरेको थियो। त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गरिएको थियो। विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन्। फ्लाईदुबाईका अनुसार सबै यात्रु सुरक्षित छन्।

प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने प्रयास गरेको बताएका छन्। उनले ठूलो विपत्ति रोक्न सहयोग गर्ने यात्रुको प्रशंसा गर्दै घाइते भारतीय पाइलट स्मित मच्छरले असाधारण बहादुरी देखाउँदै प्रतिकार गरेर ठूलो दुर्घटना हुन नदिएको बताएका छन्।

भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ। तबुक विमानस्थल सञ्चालन गर्ने कम्पनीका अनुसार सह–पाइलट पनि अवतरणका क्रममा घाइते भएका छन्। घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबाईले इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ।

यात्रु मिरियम शिरा ओहायोनले विमान केही समय ‘धेरै हदसम्म नियन्त्रण बाहिर’ रहेको बताइन्। उनका अनुसार सह–पाइलटले पाइलटको हत्या गर्ने प्रयास गरेपछि यात्रुहरूले उनलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए।

अर्का यात्रु अल्मोग इटालीले ककपिटनजिकै झगडा सुरु हुनुअघि विमानमा ठूलो अशान्ति भएको र अगाडिका यात्रुले स्थिति नियन्त्रणमा लिन सहयोग गरेको बताए।

इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ। रक्षामन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भनेका छन्।

विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग कुराकानी गर्दै चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्न सहमति भएको बताएका छन्।

इजरायली सञ्चारमाध्यमका अनुसार सम्भावित अपहरणको आशंकामा सेनाले लडाकु विमान परिचालन गरेको थियो। विमानभित्रबाट खिचिएको भिडियोमा टाउकोमा चोट लागेका एक यात्रुले सहयोग मागेको देखिएको थियो। साउदी अरेबियामा अवतरणपछि आफूहरूलाई न्यानो स्वागत गरिएको यात्रु इटालीले बताए।

घटना अक्टोबरको अन्त्यमा हुने इजरायली निर्वाचनको केही साताअघि भएको हो। मङ्गलबार प्रधानमन्त्री नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताएका थिए।

– रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी