अम्बिका डोटेल
मेलम्ची नगरपालिका कर्मचारी
सम्बन्ध, विवाह र परिवारलाई जीवनको स्थायी आधार मानिँदै आएको नेपाली समाजमा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा देखिन थालेको छ। वैवाहिक सम्बन्धमा आउने असमझदारी, वैदेशिक रोजगारी, आर्थिक समस्या, पारिवारिक दबाब, आपसी विश्वासको कमी, बाल विवाह,घरेलु हिंसा तथा बदलिँदो सामाजिक सोचलगायतका कारण सम्बन्ध विच्छेदसम्म पुग्ने परिवारको संख्या बढिरहेको छ। मेलम्ची नगरपालिका १३ वटा वडामा मात्र आर्थिक वर्ष २०८२/०८३ मा ७२ जोडिले सम्बन्ध विच्छेद गरेका छन । यो एक पालिकाको घटना मात्र हो । यसलाई हेर्दा यो केवल व्यक्तिगत पारिवारिक समस्या मात्र नभइ सामाजिक समस्या पनि रहेको देख्न सकिन्छ । आजको समाजमा महिला तथा पुरुष दुवैमा आफ्नो अधिकार स्वतन्त्रता र आत्मसम्मान प्रति चेतना बढेको छ । हिंसा अपमान असमान व्यवहार सहेर मात्र सम्बन्ध टिकाउनुपर्छ भन्ने सोचमा परिवर्तन आएको छ । यो एक तर्फबाट हेर्ने हो भने सकारात्मक समाजिक परिवर्तन पनि हो । तर अर्कोतर्फ वेदैशिक रोजगारीका कारण लामो समयसम्म पति पत्नी अलग हुनु आर्थिक तनाव पारिवारिक दबाब सामाजिक संजाल तथा प्रविधिका कारण उत्पन्न हुने अविश्वास घरेलु हिसा मदिरा आपसी संवादको कमि पारीवारिक असमझदारी, बालविवाह, वहुविवाह जस्ता पक्षहरुले समाजमा जरा गाढ्नु यसको प्रमुख कारण रहेको छ । मेलम्ची नगरपालिकामा रहेको सम्बन्ध विच्छेदको केहि प्रतिनिधि घटनाहरु यस्ता छन जसलाई तल उल्लेख गरिएको छ । जुन एक स्थानीय तहमा मात्र सिमित छैन हाल ७५३ वटा स्थानीय तहमा केलाउने हो भने पनि यस्तै घटनाहरु मनग्य रुपमा देख्न सकिन्छ ।
५५ वर्षको उमेरमा सम्बन्ध विच्छेद देखि नयाँ जीवनको सुरुवात सम्म
मेलम्ची नगरपालिका कुनै एक वडाको घटना ले सम्बन्ध विच्छेद सधै युवा उमेरमा मात्र हुने घटना होइन रहेछ भन्ने प्रमाण देखा परेको छ यसले सम्बन्ध र परिवार बारे एक गम्भिर प्रश्नको उठान गर्दछ ।३९बर्षको वैवाहिक सम्बन्ध प्रश्चात ३ सन्तान र ६ नातिनातिनाहुर्काउदै परिवार विस्तार गरेका एक जोडिले आपसि मतभेदका आधारमा ५५ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेका छन ।
जीवनको उत्तरार्धमा एक अर्काको सहारा बन्ने अपेक्षा गरिन्छ तर त्यहि उमेरमा वैवाहिक सम्बन्ध अन्त्य हुनु सम्बन्ध विच्छेदको बदलिदो सामाजिक स्वरुपको रुपमा हेर्न सकिन्छ । यस घटनाले सम्बन्ध विच्छेदलाई केवल युवा अवस्थासंग मात्र जोडेर हेर्न नमिल्ने बताउछ समयको लम्बाइले मात्र सम्बन्ध मजबुत हुन्छ भन्ने हुदैन सम्बन्ध मजमुत बनाउन एकअर्काको भावना बुझ्न आपसि समझदारि र समन्वय आवश्यक छ ।
यस्तो घटनाले तिन सन्तान र ६ नातिनातिना भएको परिवारमा यस्तो निर्णयले पार्ने भावनात्मक प्रभावलाई वेवास्ता गर्न सकिदैन जसले समाजमा एक खालको तरङ्ग पैदा गर्यौ हिजो समबन्ध निवाउनको लागि धेरै कुरा सहेर बस्ने महिलाहरुमा एक खालको शसक्तिकरण भए जस्तो त देखियो तर यसले समाज परिवारमा अर्को खालको त्रास उत्पन्न गरि दियो ।
समाजले ५०–५५ वर्षपछि नयाँ सम्बन्धलाई कसरी हेर्छ भन्ने प्रश्न पनि यस घटनासँग जोडिएको छ। युवा उमेरमा सम्बन्ध विच्छेदलाई समेत क्रमशः सामाजिक रूपमा स्वीकार गर्न थालेको समाजमा उमेर ढल्किएपछि गरिने सम्बन्ध विच्छेद र पुनर्विवाहप्रतिको दृष्टिकोण भने अझै फरक देखिन्छ।
यो घटना एउटा परिवारको निजी निर्णय भए पनि यसले नेपाली समाजमा आएको परिवर्तनलाई समेत संकेत गर्छ। विवाह भइसकेपछि जीवनभर त्यही सम्बन्धमा बस्नुपर्ने सामाजिक मान्यता कमजोर हुँदै जाँदा उमेर पुगेका व्यक्तिहरूले पनि आफ्नो वैवाहिक जीवनबारे नयाँ निर्णय लिन थालेका छन्। यसको असर क्षण भरमा नदेखिएला तर दिगो रुपमा यसले निमत्याउने सर्वपक्षिय क्षतिको कसैले आकलन गर्न समेत सक्दैन ।
विदेश जाने बहानामा सम्बन्ध विच्छेद
अग्निमा सात फेरा लगाएर जीवनका हरेक दुख सुखमा साथ दिने कसम खाई विवाह बन्धनमा बाधिएका एक जोडिले विवाह भएको ७ वर्ष वितेपछि एक छोराको आमा समेत रहेकी श्रीमतीलाई ललाई फकाइ गरी क्षणिक सम्बन्ध विच्छेद गरेर अर्को केटिसंग डिपेन्डेन्ट भिसामा अष्टेलिया जाने र उता गएर श्रीमतीलाई लैजाने गगनचुम्बी सपना देखाएर नक्कली सम्बन्ध विच्छेद तर कानुनी आधारमा सक्कली सम्बन्ध विच्छेद गरे तर हाल छोराकी आमाको जीवन कानुनी रुपमा मात्र होइन वास्तविक रुपमा नै सम्बन्ध अलग हुन पुग्यौ । उनि जो संग डिपेन्डेन्ट भिसामा बिदेश गयर सात फेरा खाएकी श्रीमती र छोरालाई बिदेश लैजाने सपना देखाएका थिय तर विडम्बना उल्टो हुन पुग्यो आज जो संग डिपेन्डेन्ट भिसामा बिदेश जादै थिय उहि केटीलाई नै आफ्नो जीवसाथिको रुपमा स्थापित गरे ।
वडामा अर्को घटना एक पुरुषले तीन सन्तानकी आमासँगकानुनी रुपमा बिदेश जानकै लागि सम्बन्ध विच्छेद गरेका छन यो नक्कली सम्बन्ध विच्छेद हो रे तर कानुनी रुपमा सक्कली पछि यो पनि सक्कली नबन्ला भन्न सकिदैन किनकी एकै पटक धनि बन्ने सपना महत्वकाक्षाको भावना बाहिरी संसारमा रम्ने बानी बाहिर देखिने सुन्दर युवती र घरमा तीन सन्तानको आमा बनेर घर धानेकी अनुहारमा चाउरी देखिन लागेकी श्रीमती कतै मन नपर्ने पो हो कि ।सगै बनेको पारिवारिक दुरीले फेरी यो परिवारलाई विच्चल्लि त बनाउने हैन ?? अब कसरि र कसले रोक्न सक्छन यस्ता घटनाहरु ।
१७ बर्षको उमेरमा विवाह र २० बर्षमा सम्बन्ध विच्छेद
किशोरावस्थामै मोवाईलफोन मार्फत एक युवकसंग एक किशोरीको चिनजान भयो । सामान्य हाइ हेलो बाट सुरु भएको सम्बन्ध विस्तारै प्रेममा परिवर्तन भयो १६ वर्षको उमेरमा मोवाइलबाट गासिंएको प्रेम सम्बन्धलाई उनले जीवनभरको सम्बन्ध ठानेकी थिइन । उमेरसंगै सम्बन्ध पनि परिपक्क हुदै जाने विश्वास थियो उनिहरुमा । समय सगै उनिहरु दुवैले अन्तिम गन्तव्य विवाह सोचे जन्मदिने बाउ आमा भन्दा प्यारो एकअर्काको लागि जीवनसाथि हुन पुग्यो दुवैले १७ वर्षको कलिलो उमेरमा आफु खुशि बाल बिवाह गरे केहि समय सबैको सम्बन्ध बाट टाढाँ रहे । सुरुवाति दिनहरुमा आकासको तारा नै धर्तिमा झार्ने जस्ता सपना बुनेर माया प्रेमले मात्र संसार अडिन्छ भन्ने भ्रममा परे तर घर परिवार चलाउन त्यसले मात्र पुगेन विवाह पछि जीवनले नयाँ मोड लियो बालबालिकामा नै बालबालिकाको आमा बन्न पुगिन एक किशोरी कानुनी रुपमा विवाह दर्ता हुनु पुर्व नै सम्बन्धमा असमझदारी तनाव उत्पन्न हुन थाल्यो सम्बन्धमा नयाँ मोड उत्पन्न भयो हिजो एकअर्का विना जीवन अधुरो सोच्ने युगल जोडी आज दुवै एक अर्काको अनुहार पनि हेर्न नरुचाउने भए अनन्त सम्बन्ध विच्छेदको निर्णयमा पुगे । उनिहरुत अलग भए जीवनको नयाँ अध्याय सुरु गर्लान तर उनिहरुको एक छोरीको अभिभावकीय जिम्मेवारी भने अन्त्य हुदैन । सम्बन्ध विच्छेद पछि पनि बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पालनपोषण, भावनात्मक आवश्यकतामा दुवै अभिभावकको आवश्यकता रहन्छ तर बिडम्बना दुवैले यो जिम्मेवारी वहन गर्लान यो प्रश्न को उत्तर फरक हुन सक्छ । दुवैले आफ्नो बाटो रोज्दा बच्चाको हर कुराको जिम्मेवारी कसले बहन गर्नेबच्चा को संग रहने विषय झन जटिल रहेको छ छ । यो घटनामा एउटा मोबाइलबाट सुरु भएको सम्बन्धले एउटा परिवार बनायो एउटा छोरी जन्माइदियो र अनन्त सम्बन्ध विच्छेद सम्म पुग्यो । यो त एक प्रतिनिधि घटना मात्र हो यस्ता घटना हाम्रो समाज र देशमा धेरै मात्रामा छन ।
ऋण गरेर बिदेश पठाएकी २ सन्तानकी आमासंगको सम्बन्ध विच्छेद
सम्बन्ध विच्छेदको पछाडी कहिले काही वर्षौको संघर्ष त्याग र परिवारको भविष्यका लागि गरेको ठुलो लगानी लुकेको हुन्छ । एउटा परिवारमा आर्थिक अवस्था कमजोर भएपछि श्रीमान श्रीमतीको सल्लाहमा श्रीमती बैदेशिक रोजगारीमा जाने र श्रीमानले घर परिवार बच्चालाई हेरचाह गर्ने सहमती भयो । सामान्य आर्थिक अवस्था भएको परिवारसंग आफै संग बिदेश पठाउने रकम नहुदा परिवारले विदेश जाने खर्च जुटाउन ऋण समेत लियो । परिवारको आर्थिक अवस्था सुधार्न,ऋण तिर्ने र दुई सन्तानको भविष्य सुरक्षित गर्ने आशाले उनि बिदेश गईन ।
विदेश गएर उनले परिवार र सन्तानका लागि दिन रात मेहनत गरिन तर यता स्वदेशको अवस्था फरक हुन पुग्यो श्रीमतीको दुख र परीश्रमको मुल्य श्रीमानले बुझेनन श्रीमतिले कमाएर पठाएको रकमबाट यता श्रीमान कुलतमा लागे जाड रक्सिलाई आफ्नो दैनिकि बनाउन थाले परिवार भन्दा बोतललाई प्यारो बनाए समय बित्दै जादाँ पति पत्नि बिचको सम्बन्धमा समस्या देखिन थाल्यो भावनात्मक दुरी, पारीवारीक असमझदारी आपसी विश्वासमा आएको संकटले उनिहरुको सम्बन्ध विच्छेद हुन पुग्यो
उनिहरुको लागि यो केवल सम्बन्धको अन्त्य हुनु मात्र थियन विदेश जान लिएको ऋण बर्षौको मेहेनत परिवारसंगको दुरी सन्तानको भविष्यको लागि गरिएको त्याग संग जोडिएको पिडा पनि थियो
ऋण गरेर परिवारको भविष्य बनाउन विदेश पठाएकी आमाको हातमा अन्नत आर्थिक बोझ सगै सम्बन्ध विच्छेदको पिडा पनि थपियो परिवार बचाउने उदेश्यले लिएको निर्णयले परिवार नै टुटयो ।
मेलम्ची नगरपालिका १३ वटै वडाको तथ्यांकले के भन्छ?
मेलम्ची नगरपालिका १३ वटै वडामा अदालतबाट सम्बन्ध विच्छेद भई वडामा दर्ता भएका सम्बन्ध विच्छेदको घटनाको विवरणलाई हेर्दा अवस्था यस्तो देखिन्छ ।
| वडा नम्बर | आर्थिक वर्षमा २०८०/०८१ को सम्बन्ध विच्छेद घटना | आर्थिक वर्षमा २०८१/०८२ को सम्बन्ध विच्छेद घटना | आर्थिक वर्ष २०८२/०८३ को सम्बन्ध विच्छेद घटना | २०८४ साउन देखि असोज १० सम्म सम्बन्ध विच्छेद घटना |
| १. | ४ | ४ | ५ | ३ |
| २. | ० | ४ | ० | १ |
| ३. | ७ | ५ | २ | २ |
| ४. | ३ | ३ | ७ | १ |
| ५. | ४ | १ | २ | १ |
| ६. | ४ | ८ | ४ | २ |
| ७. | ६ | ८ | ११ | ० |
| ८. | ८ | ३ | ४ | ३ |
| ९. | १० | ५ | १४ | ० |
| १०. | ७ | ६ | ७ | १ |
| ११. | ३ | ८ | ६ | २ |
| १२. | २ | ६ | ७ | ३ |
| १३ | ४ | ५ | ३ | ० |
| ६२ जोडी | ६६ जोडी | ७२ जोडी | १९ जोडी |
२०७८ को राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्या ४१,०६३रहेको मेलम्ची नगरपालिकामा वार्षिक रुपमा हेर्दा बढ्दो दरमा सम्बन्ध विच्छेदको अवस्था देख्न सकिन्छ । यसै गरी बढ्दै जाने हो भने समाजमा यसले लिनेरुप सोचिनसक्नुको हुने देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा सम्बन्ध विच्छेदको घटना ४ जोडिले बढेका छन भने २०८१/०८२ को तुलनामा २०८२/०८३ मा ६ जोडिले बढेको छ भने र चालु आर्थिक वर्षको सुरुवातिमा ३ महिनामा मात्र १९ जोडिले सम्बन्ध विच्छेद गरेको तथ्याङ्कले पनि यो विषयलाई सामान्य पारिवारिक घटनाका रुपमा मात्र नहेरी सामाजिक सरोकारको विषयका रुपमा लिनुपर्ने देखिन्छ । सम्बन्ध विच्छेदका घटना बढे वा घटे भन्ने तथ्यांकले मात्र यसको वास्तविक तस्वीर देखाउँदैन। प्रत्येक सम्बन्ध विच्छेदका पछाडि फरक–फरक पारिवारिक परिस्थिति र कारण हुन्छन् यि कारणहरुलाई विस्तृत रुपमा पहिचान गरी न्यूनिकरणको उपाय खोज्नु आजको आवश्यकता हो । १३ वटै वडाबाट संकलित घटनालाई हेर्दाघरेलु हिंसा/वैदेशिक रोजगारी/आर्थिक समस्या/अनैतिक सम्बन्धको आरोप/दाम्पत्य जीवनको असमझदारी/मादक पदार्थको प्रयोग/पारिवारिक हस्तक्षेप/जस्ता कारण रहेका छन ।यसलाई विगत १० बर्ष वा ५ वर्ष अगाडीको स्वरुपमा ल्याउन त नसकिएला तर अब प्रयत्न गर्नु पर्ने अवस्था आएको छ ।
सम्बन्ध विच्छेदले बालबालिकामा पर्ने असर
सम्बन्ध विच्छेदको सबैभन्दा संवेदनशिल पक्ष भनेको बालबालिका हुन । सम्बन्ध विच्छेदको प्रत्यक्ष प्रभाव श्रीमान्–श्रीमतीमा मात्र सीमित हुँदैन। सन्तान भएका परिवारमा बालबालिकाको शिक्षा, पालनपोषण, मानसिक अवस्था र आर्थिक सुरक्षासमेत प्रभावित हुन सक्छ।भविष्यका कर्णधार देश विकासका सम्वाहक भनिएका बालबालिका नै बिचलित हुन्छन । कतिपय अवस्थामा अभिभावकको मनमुटावले बालबालिकाले मानसिक तनाव समेत सामना गर्नुपर्दछ । उनिहरुमा दुख,एक्लोपन, असुरक्षा, रिस,डर आफुलाइ दोषि ठान्ने,अभिभावको सम्बन्ध टुटनुको कारण कतै आफै त होइन भन्ने गलत धारणा समेत आउन सक्छ । हिजो सम्म एउटै घर आगनमा देखेका आमा बुबा अलग बस्न थालेपछि बालबालिकाको मनमा अनेक प्रश्न उठन सक्छ अब म को संग बस्ने बुबा किन आउनुहुन्न आमा किन आउनुहुन्नआमा किन एक्लै हुनु भयो । बुबाले किन यस्तो गर्नुभयो जस्ता यावत प्रश्नहरु बालबालिकाको मनमा आउन सक्छन ।
कतिपय बालबालिकाले आफ्नो दुख पोख्न सक्दैनन तर उनिहरु भित्र बाट टुटेका हुन्छन उनिहरुको पिडा गहिरो हुन सक्छ जसको फलस्वरुप पढाईमा ध्यान नजाने,चुपचाप बस्ने,रिसाउने,जिद्दि गर्ने साथिभाईबाट टाढिने जस्ता व्यबहार देखिन सक्छन । तसर्थ सम्बन्ध बिच्छेद भएका परिवारका बालबालिकालाई समस्या भएका बच्चा भनेर होइन की भावनात्मक सहयोग आवश्यकता भएका बालबालिका भनेर बुझ्न आवश्यक छ । यसको केहि ज्वलन्त उदाहरण पनि छन –
सम्बन्ध विच्छेद पछि एक बालिकाको हेरचाह र पालन पोषण एकल आमाले मात्र बहन गरिन र बुबाको छत्रछाया कस्तो र बुबा को हो के भन्ने केहि थाहा पाईनन अरुको बुबा देख्दा उनलाई पनि बुबाको सामिप्यतामा बस्न मन नलागेको हैन कति रहरहरु अन्यायसै मेटनु पर्यो तर जब नागरिकता बनाउने बेला आयो तब उनलाई बुबाको खाचो पर्यो तर उनि चाहन्नथिन बुबाको नाम मेरो नागरिकतामा रहोस भन्ने उनि एकल आमाले जन्माएको सन्तान भनेर नागरिकता लिनको लागि धेरै प्रयत्नरत रहिन किनकि उनको सबै जिम्मेवारी आमाले बहन गरेकी थिन बिडम्बना कानुनी रुपमा त्यो सम्भव थियन । जन्मदर्तामा उनको बाबुको पहिचान भईसकेको थियो यसले ति बालिकामा कस्तो असर पर्यो होला कति समयदेखि उनले के महसुस गरेकी थिन होला भन्ने स्पष्ट देखिन्छ ??
५५ बर्षिया हजुरआमाको सम्बन्ध विच्छेद पछि एक नातिनि वर्षो सम्म घायल भइन जन्मदेखि उनलाई हुर्काउने बढाउने र समाजसंग जुध्न अनेक सर्घष गर्न सिकाउने हजुरआमाले खेलेका हरेक भूमिकाहरु हजुरआमाले सम्बन्ध विच्छेदको बाटो रोजेर घरबाट टाढाँ गएपनि उनको जीवनबाट जान सकेन उनलाई धेरै समय परामर्शको आवश्यकता पर्यौ आज पनि उनको हृदय विछिप्त छ ।यसले उनको शिक्षा लगाएतका धेरै कृयाकलापहरुमा असर पर्यो ।यी त केबल केही प्रतिनिधि उदाहरण मात्र हुन यस्ता अनेकन समस्याबाट ग्रसित छन बालबालिकाहरु
अवको बाटो
सम्बन्ध विच्छेद न्यूनिकरणका लागि केवल दम्पतिको प्रयास मात्र प्रयाप्त हुदैन परिवार, समाज स्थानीय तहतथा राज्यका सम्बन्धित निकायले समेत भूमिका निर्वाह गर्नुपर्छ । सम्बन्ध किन जोडिन्छ भन्ने मात्र होइन सम्बन्धलाई स्वस्थ, सम्मानजनक र जिम्मेवारी ढंगले कसरी टिकाइराख्ने भन्ने विषयमा हाम्रो समाजले कति तयारी गरिरहेको छ भन्ने विषय पनि आज एक प्रश्न बनेको छ । सम्बन्ध जोगाउनु महत्वपुर्ण छ तर यसो भन्दैमा सम्बन्ध विच्छेदका घटना न्यूनीकरण गर्ने नाममा सम्बन्धमा रहेका व्यक्तिलाई जबर्जस्ती सँगै बस्न लगाउनु समाधान होइन। बरु विवाहपूर्व परामर्श, पारिवारिक परामर्श, घरेलु हिंसाविरुद्धको संरक्षण, आर्थिक सशक्तीकरण,बाल विवाह न्यूनिकरण,वैदेशिक रोजगारीमा जाने परिवारका सदस्यका लागि परामर्श तथा सम्बन्ध विच्छेदपछि बालबालिकाको संरक्षणजस्ता विषयमा स्थानीय तहलेथप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ ।
सम्बन्ध विच्छेदलाई केवल सामाजिक विकृति वा व्यक्तिगत असफलताको रूपमा व्याख्या गर्नु पर्याप्त हुँदैन। कतिपय अवस्थामा हिंसा, जबर्जस्ती सम्बन्ध, निरन्तर मानसिक यातना वा असुरक्षित वैवाहिक सम्बन्धबाट बाहिर निस्कनु व्यक्तिको अधिकार र सुरक्षासँग जोडिएको विषय हुन सक्छ।त्यसैगरी, सम्बन्ध विच्छेदका पछाडि रहेका वास्तविक कारण पहिचान नगरी केवल बढ्दो संख्यालाई आधार बनाएर निष्कर्ष निकाल्नु पनि उचित हुँदैन।
मेलम्ची नगरपालिका १३ वटै वडाको तथ्यांकले स्थानीय समाजमा भइरहेको वैवाहिक तथा पारिवारिक परिवर्तनलाई बुझ्ने एउटा महत्वपूर्ण आधार दिन सक्छ। त्यसैले सम्बन्ध विच्छेदको संख्या हेर्दा किन सम्बन्ध टुटिरहेका छन्, सम्बन्ध टुटेपछि परिवारमा के भइरहेको छ र बालबालिकामा कस्तो प्रभाव परेको छभन्ने प्रश्नमा पनि स्थानीय तह र सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिन्छ।
अन्ततः सम्बन्ध विच्छेदको संख्या बढ्नु वा घट्नु मात्र समाचारको विषय होइन।त्यस संख्याभित्र लुकेका परिवारका कथा, महिलाका संघर्ष, पुरुषका निर्णय, बालबालिकाको भविष्य र बदलिँदो नेपाली समाजको तस्वीरबुझ्नु अझ महत्वपूर्ण विषय हो।
महिलाको हक हितको कुरा गर्ने महिला अधिकारकर्मी, महिलाको कोटामा राजनितिमा आफ्नो पद र पहिचान बनाउने महिलाहरुले पनि अब यस्ता कुराहरुलाई ध्यान दिन जरुरी छ जसले भविष्यमा बालबालिका र समाजमा पर्ने असरको न्यूनिकरण गर्न सकोस । फाटेका घरहरुलाई, अनि मनहरुलाई सिलाउने काम त्यति सहजत छैन तर पनि हिजोको पुर्खाले समालेको जस्तै गरी घर परिवार र समाज समाल्नु हामि सबैको दायित्व हो यसबाट कोहि कतै विचलित नभइ लागि पर्नु पर्दछ । यहि नै समाज सुधारको आयाम बन्न पुग्दछ ।यसमा हामि सबैले हातेमालो गर्नु पर्दछ । समाजमा रहेका विकृती कुसंसकारहरु न्यूनिकरण गर्न अब घर बाटै लाग्नुपर्दछ । यदि अन्याय अत्याचारले सिमा नाघेमा सामाजिक वहिष्कारको अभियान चलाउन पर्दछ । समाजमा सचेत सक्षम र पदिय जिम्मेवारी ओगट्नेबाट नै आज धेरै प्रकारका घटनाहरु घटिरहेका छन यसलाई पनि न्यूनिकरण गर्नु जरुरी छ । सम्बन्धमा एउटा अध्याय टुगिए पनि जीवनको कथा टुंगिदैन टुटेको ठाउँबाटै नयाँ जीवनको सुरुवात हुन सक्छ ।





