काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र संस्थागत लोकतान्त्रिक संस्कारको अभाव देखिएको दाबी गरे। प्रधानमन्त्रीको दम्भ र संसद्प्रतिको गैरजिम्मेवार व्यवहारले लोकतन्त्र नै कमजोर हुने चेतावनीसमेत उनले दिए।
आङ्देम्बेले सरकारसँग स्पष्ट बहुमत भए पनि त्यससँगै शासन सञ्चालनको कौशल, संवाद, समन्वय, निर्णय क्षमता र परिणाम देखिनुपर्ने बताए। संसद् सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा संस्था भएकाले संसद्, प्रतिपक्ष र जनताका प्रश्नलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
उनले सरकार बहुमतको उन्मादमा सीमित राजनीतिक घेराभित्र मात्रै केन्द्रित हुन खोजेको आरोप लगाए। लोकतन्त्रका आधारभूत स्तम्भ, संवैधानिक निकाय र नागरिक समाजलाई साथमा लिएर अघि बढ्न उनले सरकारलाई सुझाव दिए।
प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनु स्वाभाविक र आवश्यक भए पनि जलवायु परिवर्तनसँगै प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल विभाजन, वित्तीय संरचना सुधार र नेपालको भू–राजनीतिक सम्भावनाजस्ता विषय प्रभावकारी रूपमा उठाउनुपर्नेमा उनले जोड दिए। आगामी कोप सम्मेलनमा जलवायु, हानि–क्षति र नेपालको हितका विषयलाई प्राथमिकताका साथ उठाउन पनि उनले आग्रह गरे।
प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे प्रश्न उठाउँदै आङ्देम्बेले महासभामा जानुअघि संसद्लाई जानकारी नदिइनु र फर्किएपछि पनि त्यहाँ भएका गतिविधिबारे सदनलाई अनभिज्ञ राखिनु संसदीय परम्पराको उपहास भएको बताए।
संसद् चलिरहेका बेला प्रधानमन्त्रीको अनुपस्थिति र संसद्प्रतिको उदासीनता उचित संसदीय अभ्यास नभएको उनको भनाइ थियो। उनले संसद् सरकार, प्रतिपक्ष र जनताको साझा मञ्च भएको उल्लेख गर्दै भने, ‘यो आफूलाई मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने मदिरालय होइन।’
लोकतन्त्रमा प्रश्नबाट भाग्ने नभई प्रश्नको सम्मान गर्ने सरकार बलियो हुने उल्लेख गर्दै उनले विधिको शासन, संस्थागत मर्यादा, संवाद र जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई आग्रह गरे।
प्रधानमन्त्रीको यस्तो प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश दिइरहेको जिकिरसमेत आङ्देम्बेले गरे।





