काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजीका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा सहभागी हुनेहरूलाई ‘जलाऊ, जलाऊ, ठोक’ भन्नेहरू नै सांसद र मन्त्री बने पनि आन्दोलनका माग सम्बोधन गर्न चासो नदिएको टिप्पणी गरे।
उनले भने, ‘जेनजीको सपना पूरा गर्छु भनेर सरकारमा तपाईंहरू आउनुभएको हो। त्यही आन्दोलनमा सहभागी हुनेहरूलाई जलाऊ, जलाऊ, ठोक भन्नेहरू सांसद, मन्त्री हुने अनि त्यही जेनजी आन्दोलनमा सहभागी हुनेहरू जेल बस्नुपर्ने के हो यो? के समस्या हो यो?’
जेनजी आन्दोलन परिवर्तनका लागि भएको हो वा कुनै आपराधिक घटना हो भन्दै उनले सरकारसँग जवाफ मागे। अब पनि नेपालको राजनीतिमा झूट बोले जनताले नपत्याउने उनको भनाइ थियो। उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा सरकारको धारणा माग गरे।
भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ गर्ने र पछि छाड्ने क्रम बढेको भन्दै राईले आपत्तिसमेत जनाए।
उनले भने, ‘आज पक्रिन्छ, भोलि छोडिदिन्छ। के गरेको यो? कस्तो किसिमको सुशासन हो यो? राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो छाती छ भन्नुहुन्थ्यो। के ठूलो छाती नभएको मान्छेले आज सरकार चलाइराखेको हो? नत्र के कुराले रोकेको छ?’
सरकारमा रहेका व्यक्तिहरूले लोकप्रियताका लागि जे पनि बोल्दै हिँडेको उनले टिप्पणी गरे।
‘राजदरबार हत्याकाण्डको फाइल खोल्छु भन्नुभयो, कहाँ पुग्यो त्यो? गिरिबन्धु टी–स्टेट के भयो? वाइडबडी काण्ड के भयो? यस्ता छन्,’ उनले भने।
सरकार दुई तिहाइको नजिक रहेको उल्लेख गर्दै राईले भ्रष्टाचारीलाई कारबाही गर्न दुई तिहाइ आवश्यक भए सहयोग गर्न श्रम संस्कृति पार्टी तयार रहेको बताए।
उनले भने, ‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्यो, दुई तिहाइ चाहियो भन्नुस् त। श्रम संस्कृति पार्टी राष्ट्र निर्माणका निम्ति भ्रष्टाचारीलाई थुन्न सहयोग गर्न तयार छ। त्यसका लागि हामी सरकारमा हुनुपर्दैन।’





