रास्वपा सांसदको कार्यक्रम बहिष्कार गर्न आह्वान

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भोलि आयोजना गर्न लागेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम पत्रकारहरूले बहिष्कार गर्ने भएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार खत्रीले पत्रकारहरूको मानमर्दन गर्नुका साथै सिंगो प्रेस जगतको अपमान हुनेगरी संसदमा आपत्तिजनक अभिव्यक्ति दिएकाले उनको कार्यक्रममा पत्रकारहरूले सहभागिता नजनाउने निर्णय गरेका हुन् । यसबारे अहिले महासंघका पदाधिकारी तथा सदस्यहरूबीच छलफल चलिरहेको र छिट्टै औपचारिक निर्णय गर्ने उनले जानकारी दिए ।

सञ्चारकर्मबाटै राजनीतिमा आएका सांसद खत्रीले हिजोको प्रतिनिधि सभा बैठकमा पत्रकारहरूलाई ‘असन को साँढे’ को संज्ञा दिँदै गुण्डागर्दी नगर्न चेतावनी दिएका थिए । प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई केही पत्रकार नेताले झ्यालबाट फ्याँक्ने भन्दै धम्की दिएको दाबी गर्दै उनले भनेका थिए- ‘यस्तो धम्की दिने पत्रकारहरू हुन् कि गुन्डा हुन् ? पत्रकारका नाममा कसैलाई धम्की दिने यिनीहरू असनका साँढे हुन् ।’

त्यस्तै, सहकारी ठगीका आरोपित जिबी राई पक्राउको विषयलाई लिएर संसद भवन बाहिर एक पत्रकारसँग उनको बाझाबाझ भएको थियो । विगतमा आफूहरूले सरकार चलाउन पाए २४ घण्टामा राईलाई समातेर नेपाल ल्याउने भन्नेहरूले यतिका दिनसम्म किन पक्राउ नगरेको भन्ने प्रश्नमा उनी पत्रकारसँग बेस्कन जंगिएका थिए ।

उनै खत्रीले भोलि बिहान ८ बजे सूर्य विनायक नगरपालिकास्थित्र क्लब बागमतीमा पत्रकार सम्मेलन गर्न लागेका छन् । उनको तर्फबाट सचिवालयले हिजो प्रकाशित गरेको सूचनामा समसामयिक विषय र जनसरोकारका विविध सवालमा संचारकर्मीहरूसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गर्न लागेको जानकारी गराइएको छ ।

तर, पत्रकारहरूले बहिष्कार गर्न लागेको थाहा पाएपछि अन्तर्किया कार्यक्रम स्थगित भएको सूचना पाएको महासंघका केन्द्रीय सदस्य सुवेदीले जानकारी दिए । खत्रीका व्यवहार सिंगो प्रेस जगतकैविरुद्धमा रहेकाले उनका कुनै पनि कार्यक्रममा सहभागी नहुनसमेत सुवेदीले सबै संचारकर्मीलाई अपिल गरेका छन् ।

यता, महासंघले पनि सांसद खत्रीलाई आफ्नो अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना गर्न भनेकाे छ । महासचिव रामप्रसाद दाहालले भर्खरै जारी गरेको विज्ञप्तिमा संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध दुषित मानसिकता राखेर पत्रकार र प्रेस जगतलाई धम्क्याउने वा अपमानित गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट परिएको छ ।

‘महासंघ खत्रीको प्रेसविरोधी अभिव्यक्तिप्रति खेद प्रकट गर्दछ र यसप्रति क्षमा याचना गर्न आग्रह गर्दछ’,विज्ञप्तिमा लेखिएको छ, ‘विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबारबारका लागि राखेको अन्तर्किया भक्तपुरका पत्रकारले वहिष्कार गर्ने जनाउ दिएबाट तत्काल क्षमा माग्नुको विकल्प देखिंदैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी