कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गर्ने भएको छ ।

कांग्रेसको गौरवमय इतिहास, जारी महाधिवेशन तथा समसामयिक राजनीतिक विषयवस्तुलाई डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेविसंघले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट १५ जना स्रष्टालाई कुल दुई लाख २० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक सन्दर्भ समेटेर मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट १२ जनालाई जनही १० हजार रुपियाँ सान्त्वना पुरस्कार दिइने नेविसंघले जनाएको छ ।

सहभागीले एकल, समूह वा परिवारसँग मिलेर नृत्य, लिप्सिङ्क, अभिनय, कथावाचन (स्टोरीटेलिङ) लगायतका रचनात्मक शैलीमा भिडियो बनाउन सक्नेछन् ।

विजेताको मूल्याङ्कन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरका आधारमा गरिनेछ । कृत्रिम रूपमा ‘बुस्ट’ वा ‘प्रमोट’ गरिएका भिडियो भने प्रतियोगितामा समावेश नगरिने नेविसंघकी अध्यक्ष करुणा कटुवालले बताइन् ।

प्रतियोगितामा सहभागी हुन टिकटक, फेसबुक वा इन्स्टाग्राम रिल्स पोस्ट गर्दा नेपाली कांग्रेसको आधिकारिक सामाजिक सञ्जाल खाता अनिवार्य रूपमा फलो र मेन्सन गरी तोकिएका ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

महाधिवेशनलाई डिजिटल पुस्ता र युवासँग जोड्दै उत्साहजनक बनाउन प्रतियोगिता उपयोगी हुने विश्वास अध्यक्ष कटुवालले व्यक्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्