विनयी त्रिवेणीमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएको हो।

बसमा चालकसहित १८ जना सवार रहेकामा २ जना भने सकुशल रहेका छन्।

दुर्घटनामा मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन्। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लालबहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको छ। घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी