काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउने भएको छ । पार्टी पंक्तिबाट विधान मस्यौदा समितिमा आएका सुझावका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन लागिएको हो ।
पार्टी नेतृत्वमा आउन चाहने आकांक्षीहरूको सहज व्यवस्थापन तथा पार्टीभित्रका फरक मनोविज्ञानलाई समेट्नुपर्ने दबाबका कारण विधान संशोधन गर्न लागिएको हो ।
हालको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ भने पदाधिकारीको संख्या १७ जना रहने व्यवस्था छ । दुवै व्यवस्थामा संशोधन गर्ने तयारी गरिएको छ ।
पार्टी स्रोतका अनुसार उपसभापतिमा एक महिला अनिवार्य गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । हाल दुई जना उपसभापति रहने व्यवस्थामा एक जना थप गरी तीन जना उपसभापति बनाउने प्रस्ताव गरिएको छ । त्यसमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था राख्न लागिएको हो ।
त्यस्तै, उपसभापतिमध्ये एक जनालाई वरिष्ठ उपसभापतिको पद सिर्जना गर्ने तयारी गरिएको छ । वरिष्ठ उपसभापतिको व्यवस्था हालको विधानमा छैन । महामन्त्रीको संख्या भने दुई जना नै रहनेछ ।
पदाधिकारीमा सहमहामन्त्रीको संख्या पनि थप गर्ने तयारी गरिएको छ । पार्टीका शीर्ष तहका नेताका अनुसार सहमहामन्त्रीमा समावेशी क्लस्टरसँगै खुलातर्फबाट पनि प्रतिस्पर्धा गर्ने व्यवस्था राख्ने विषयमा छलफल भइरहेको छ ।
हाल जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने व्यवस्था छ । अब यी समावेशी क्लस्टरका अतिरिक्त खुलातर्फ पनि सहमहामन्त्री राख्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय सदस्यको संख्या पनि थप गर्ने तयारी छ । हाल खुलातर्फ ३५ जना केन्द्रीय सदस्य रहने व्यवस्था रहेकोमा त्यसलाई बढाउने विषयमा छलफल भइरहेको छ । कति जना थप्ने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले २३१ सदस्यीय केन्द्रीय समितिमा ६१ जना सभापतिले मनोनीत गर्ने गरी विधान तयार गरेको थियो । अब उक्त संख्यासमेत बढाउने तयारी गरिएको छ ।
वरिष्ठ उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्य थप गर्दा कायम हुने कुल संख्याबारे विधान संशोधन मस्यौदा समिति छलफलकै क्रममा रहेको बताइएको छ ।
३५ वर्षमुनिबाट २१ जना, पेशागत तथा बुद्धिजीवी लगायतबाट छनोट हुने ७ जना र जनसम्पर्क समितिबाट चयन हुने ६ जनाको व्यवस्थामा भने संशोधन नहुने जानकारी गराइएको छ ।
विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव पार्टीमा पेश हुनेछ । केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि महाधिवेशन हलबाट पारित गरिनेछ ।
महामन्त्री पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिमा जीवन परियार, ईश्वरी न्यौपाने र राजीव ढुंगाना सदस्य छन् भने प्रताप पौडेल सदस्य सचिव छन् ।





