काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई स्वास्थ्य सेवा प्रदान गरिनेछ।
महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशन स्थल खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। पाँचवटा स्टल रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक सेवा प्रदान गरिनेछ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। डेस्कमा ८ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन्। त्यहाँ रक्तचाप र सुगर परीक्षणका साथै सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत सामग्री निःशुल्क उपलब्ध गराइनेछ।
प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरास्थित बीपी स्मृति अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ।
रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल’ ड्युटीको व्यवस्था गरिएको छ। होटलमा रहेका प्रतिनिधिलाई स्वास्थ्यसम्बन्धी समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्धसमेत गरिएको डा. केसीले जानकारी दिए।
नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कमा आयुर्वेद र एलोपेथिक दुवै सेवा उपलब्ध हुने जानकारी दिइन्। उनका अनुसार अत्यावश्यक औषधि हेल्थ डेस्कमै उपलब्ध हुनेछ।





