सिराहा । सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा धनगढीमाई नगरपालिका–७ का २० वर्षीय अजयकुमार यादवलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दा बसमा सवार यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हो।
यादवको साथबाट १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
ब्राउन सुगरसहित पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





