१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि छुट्टै योजना बनाएर राजनीतिक दलहरूले त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले ग्लोबल साउथबाट ग्लोबल नर्थसम्मको यात्रा तय गरेको दृष्टान्त दिँदै भट्टराईले नेपालले पनि आगामी २० वर्षमा त्यहाँ पुग्ने लक्ष्यसहित योजना बनाउनुपर्ने बताए ।
उनले भने, ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’
भट्टराईले देश विकासका लागि स्पष्ट योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘त्यसको एउटा योजना बनाऔँ । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ । त्यसो गरे मात्रै देश बन्छ ।’
त्यस्तै, देशमा राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने पनि उनले बताए ।
‘अब पाठ सिकौँ । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले भने ।




