काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्सँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ जान खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै दललाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको भए पनि सरकारबाट त्यस्तो प्रयास नभएको भन्दै उनले आपत्ति जनाए ।
‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन । नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन,’ पोखरेलले भने ।
यस्तो अवस्थामा भविष्यमा आउन सक्ने प्राकृतिक विपद् र संकटलाई कसरी सामना गर्ने भन्ने विषय अत्यन्तै चिन्ताको विषय रहेको पोखरेलले बताए ।
‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि शंका उब्जिएको छ । जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न,’ उनले भने ।
उनले यस्तो अवस्थामा देश लोकतन्त्रको भविष्यतर्फ अघि बढिरहेको हो कि स्वेच्छाचारी शासनतर्फ भन्ने प्रश्न उठिरहेको बताए । लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका विषयमा कसरी अघि बढ्छ भन्ने महत्त्वपूर्ण प्रश्न बनेको उनको भनाइ छ ।




