काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि राष्ट्रपति कार्यालयबाट एउटा मात्रै अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरिएको हो । भूमिसम्बन्धी र वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याइएको हो । हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकामा विपद्का घटनामा भने उक्त अवधि घटाएर ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था अध्यादेशमा समेटिएको छ ।
त्यस्तै, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने प्रस्तावित अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समावेश छ ।
राष्ट्रपतिबाट जारी भएपछि अध्यादेशका व्यवस्था कार्यान्वयनमा आउनेछन् ।





