नेकपाले मंसिरमा महाधिवेशन नगर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णयबाट पछि हटेको छ । आज बसेको केन्द्रीय संयोजन समिति बैठकले स्थानीय निर्वाचनअघि महाधिवेशन नगर्ने निर्णय गरेको हो ।

केन्द्रीय महाधिवेशन चुनावपछि गर्ने तयारीसहित बैठकले वडा र पालिका अधिवेशनको मिति तोकेको छ । प्रवक्ता प्रकाश ज्वालाका अनुसार अगामी पुस ११ गते वडा र माघ १५ गते पालिकास्तरीय अधिवेशन गर्ने बैठकको निर्णय छ ।

जिल्ला, प्रदेश र केन्द्रको भने स्थानीय तह निर्वाचनपश्चात गर्ने निर्णय भएको उनले जानकारी दिए । बैठकले युवाहरुलाई विशेष प्राथमिकता दिने र तल्लो तहबाटै ५० प्रतिशत युवा सहभागिताको सुनिश्चितता गर्ने निर्णय पनि गरेको बताइएको छ ।

पोहोर भदौको जेनजी घटनापछि अन्य पुराना पार्टीमा जस्तै नेकपामा पनि नेतृत्व पुस्तान्तरणको बहस उठेको थियो । त्यसका लागि महाधिवेशनको माग हुँदा फागुनको चुनावपछि गर्ने भन्दै टारिएको थियो । चुनावमा कन्तबिजोग अवस्था भोगेको पार्टीले फेरि मंसिरको भाका राखेकोमा अहिले आएर स्थानीय चुनावपछिका लागि सारेको हो ।

कांग्रेसको महाधिवेशनमा ‘क्रमभंग’ भन्दै गगन थापाले नेतृत्व लिएकोमा प्रशंसा गरेका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीमा भने पुस्तान्तरणको माग सम्बोधन नगरेको गुनासो सुनिन्छ । केही युवा नेताले तत्काल महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्