काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई हाल कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।
प्रहरीका अनुसार असोज २२ गते बिहान करिब साढे १० बजे विद्यालय परिसरमा घटना भएको थियो। प्रारम्भिक अनुसन्धानमा दाहालले विद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र धाकधम्की दिएको खुलेको छ।
त्यस्तै, घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताएका छन्।
प्रहरी वृत्त बौद्धले दुवै जनामाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान गरिरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




