काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई सरकारले तीव्रता दिएको बताएका छन्।
आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत सामग्रीसहित उद्धारका काम भइरहेको जानकारी दिएका हुन्।
बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउन सोलारमार्फत बत्ती जडान गर्ने काम भइरहेको उनले बताए।
त्यस्तै, बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध टेलिफोनलगायत सञ्चार सेवा पुनःस्थापना गर्ने प्रयास पनि भइरहेको गृहमन्त्री गुरुङको भनाइ छ।
आइतबार बिहान गोरखाको उत्तरी क्षेत्रमा आएको भीषण बाढीले बूढीगण्डकी नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा विद्युत् र सञ्चारजस्ता आधारभूत सेवा पुनःस्थापनाका काम अघि बढाएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।




