ओमानमाथि नेपालको ११३ रनको शानदार जित, लिग–२ मा लगातार दोस्रो सफलता

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान ३९.६ ओभरमा १५० रनमै अलआउट भयो ।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै, जय ओडेद्राले २५ र जतिन्दर सिंहले १८ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए । दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । उनले ६७ बलमा अर्धशतकीय इनिङ्स खेले । करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे । उनको इनिङ्समा चार छक्का र एक चौका समावेश थियो ।

त्यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।

ओमानका बलर शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए भने हसनइन शाहले एक विकेट लिए ।

यसअघि लिग–२ अन्तर्गतकै खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो । ओमानमाथिको जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्