इजरायलको चुनावअघि नेतान्याहुको पक्षमा खुलेर उभिए ट्रम्प

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन् । उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरे । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए।

इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए । तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए ।

इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेदसमेत देखिएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाए ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताए ।

करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सीट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन् ।

यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेशमन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता जनाएका छन् ।

इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्किएका हुन् । चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उनका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी