कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

३ कात्तिक, धनगढी । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन् ।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै सोमबार साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किएका थिए । घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०:५० बजे मृत घोषणा गरिएको थियो ।

त्यस्तै, राति साढे २ बजेतिर कैलारी गाउँपालिका–७ को रामपुरस्थित हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए । उनलाई घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

यस्तै, टीकापुरमा पनि राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । राति १० बजेतिर से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए । १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि थारूलाई टीकापुर अस्पताल पुर्‍याइएको थियो । उनको राति साढे बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी