भिरबाट लडेर वडाध्यक्षको मृत्यु, उद्धारको हेलिकोप्टर उड्नै पाएन

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

कैलाली । बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।

गाउँमाथिको अठपाली भन्ने ठाउँमा खर काट्न गएको बेला भिरबाट लडेर चट्टानमा बजारिँदा ५० वर्षीय जोशी गम्भीर घाइते भएका थिए ।

भिरबाट लडेर चट्टानमा बजारिएपछि उनको कानबाट रगत बगेको मृतकका आफन्त रामचन्द्र जोशीले बताए । गम्भीर घाइते जोशीको उद्धारका लागि हेलिकोप्टर बोलाउने तयारी भइरहेको थियो । तर, हेलिकोप्टर उड्न नपाउँदै उनको मृत्यु भएको खबर आएको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

‘अवस्था असाध्यै गम्भीर छ र तुरुन्तै हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ, नत्र बाँच्न गाह्रो छ भन्ने आफन्तजनहरूको भनाइपछि तुरुन्तै जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदै थियो,’ उनले भने, ‘खबर पाएको करिब आधा घण्टाभित्रै हेलिकोप्टर उडाउने तयारी भएको थियो, तर एकैछिनमा दुःखद खबर आयो कि अब उहाँ रहनुभएन ।’

जोशी २०७४ सालमा नेकपा एमाले र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । उनी दुई कार्यकाल वडाध्यक्ष बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्