हिन्दु राष्ट्रबारे सरकारसँग स्पष्ट जवाफ माग्दै हिन्दु सम्राट सेना, छठपछि देशव्यापी आन्दोलनको चेतावनी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

८ कात्तिक, काठमाडौं ।देशमा फेरि एकपटक धार्मिक तथा साम्प्रदायिक दंगा फैलिने खतराका संकेतहरू देखिन थालेका छन् । जनकपुरधाममा हिन्दु युवामाथि मुस्लिमहरूले कुटपिट गरेको घटनाले विवाद चर्किरहेकै बेला ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी संगठनले छठपछि देशव्यापी आन्दोलनमा उत्रने घोषणा गरेको हो ।

आज एकाबिहानै ‘हिन्दू सम्राट सेना सचिवालय’ को फेसबुक पेजमार्फत हिन्दूहरूमाथि भइरहेको अन्याय तथा अत्याचार बन्द नगरेमा छठपश्चात् देशव्यापी आन्दोलन गर्ने स्पस्ट परिएको छ । आफ्ना मागप्रति वेवास्ता गरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिइएको छ ।

त्यस्तै, नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा सरकारको धारणा माग गरिएको छ । दुई महिनाअघि हिन्दु सम्राट सेना र सरकारबीच भएको वार्तामा हिन्दुराष्ट्र बनाउने सहमति भएको उल्लेख गर्दै यसै महिनाभित्र स्पष्ट जवाफ दिन ध्यानाकर्षण गराइएको छ ।

स्मरण रहोस्, मधेशका जिल्लाको भ्रमणमा रहेका बेला साउन १७ गते गृहमन्त्री सुधन गुरुङ र हिन्दु सम्राट सेनाका प्रतिनिधिबीच जनकपुरको मिथिला यात्री निवासमा वार्ता भएको थियो । वार्ताका क्रममा गृहमन्त्री गुरुङले आफूहरुको माग पूरा गर्ने आस्वासन दिएको दाबी सम्राट सेनाका प्रतिनिधिहरुले गरेका थिए । यद्यपि यसबारे अहिलेसम्म सरकारको औपचारिक धारणा आएको छैन भने लिखित कागज पनि सार्वजनिक गरिएको छैन ।

यसै सन्दर्भमा भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हिन्दु सम्राट सेनाका नेताहरूले जानकारी दिएका छन् ।

यता, हिन्दु सम्राटको धनुषा जिल्ला समितिले पनि हिन्दु धर्मावलम्बीमाथिको आक्रमण नरोकिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । जानकी मन्दिरमा प्रार्थना गरिरहेका बेला पत्रकार ध्रुव झामाथि मुस्लिम युवाहरूले ‘घिनौना हर्कत’ गरेको जनाउँदै दोषीमाथि कडा कारवाही माग गरिएको छ ।
‘माता जानकीको पवित्र भूमि जनकपुरधाममा पत्रकार ध्रुव झामाथि भएको घिनौना आक्रमण र कुटपिटको घटनाप्रति हिन्दु सम्राट सेना, धनुषा जिल्ला कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, सार्वजनिक विज्ञप्तिमा उल्लेख छ, ‘घटना विवरणअनुसार पत्रकार झाले ‘महादेव-महादेव’ भनी आफ्नो धार्मिक आस्था प्रकट गरिरहेका बेला एक मुस्लिम व्यक्तिले उहाँमाथि कुटपिट गर्दै ‘जनकपुर अल्लाहको ठाउँ हो, तिमीहरू अल्लाहको नियन्त्रणमा छौ । अल्लाह अकबर भन, यदि अल्लाहको नाम लियनै भने तिमीलाई काटिनेछ’ भनी खुलेआम धम्की दिएका छन् ।’

आफ्नै जन्मभूमि तथा धार्मिक भूमिमा भगवानको नाम लिनसमेत बन्चित गरिएको भन्दै विज्ञप्तिमा यस घटनालाई अपराधिक गतिविधिको संज्ञा दिइएको छ । शान्ति सुरक्षामाथि आँच पुर्याउने, मजहवी उन्माद र आतंक मच्याउने दोषीमाथि तत्काल कडा भन्दा कडा कारबाही नगरिए समग्र हिन्दु धर्मावलम्बीहरू प्रतिकारमा उत्रन बाध्य हुने हिन्दु सम्राट सेनाको चेतावनी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्