काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ। प्रस्ताव स्वीकृत भए विश्वका मान्यता प्राप्त आठ हजारी हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा रहेका यस्ता हिमालको सङ्ख्या आठबाट १४ पुग्नेछ।
काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण महासङ्घ (यूआईएए) को साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले ती चुचुराको भौगोलिक, वैज्ञानिक तथा पर्वतारोहणसम्बन्धी आधारमा औपचारिक मूल्याङ्कन गर्न आग्रह गरेका हुन्।
हाल अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वका १४ वटा आठ हजारी हिमालमध्ये आठवटा नेपालमा वा नेपालको सीमामा पर्छन्। ती सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चो ओयु, धौलागिरि प्रथम, मनास्लु र अन्नपूर्ण प्रथम हुन्।
नेपालले थप मान्यता माग गरेका चुचुरामध्ये कञ्चनजङ्घा हिमशृङ्खलाका कञ्चनजङ्घा साउथ, कञ्चनजङ्घा वेस्ट, कञ्चनजङ्घा सेन्ट्रल र यालुङ खाङ रहेका छन्। त्यस्तै, सगरमाथा–ल्होत्से हिमशृङ्खलाका ल्होत्से मिडल र ल्होत्से शारलाई पनि छुट्टाछुट्टै हिमालको मान्यता दिन प्रस्ताव गरिएको छ।
नेपाल सरकारले यी चुचुरामा आरोहण अनुमति दिँदै आएको छ। आरोहीहरूले ती चुचुराको सफल आरोहण गरी प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्। तर, छुट्टाछुट्टै आठ हजारी हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता भने पाएका छैनन्।
एनएमए अध्यक्ष शेर्पाका अनुसार यी चुचुराको आफ्नै नाम, भौगोलिक पहिचान र शिखरसम्म पुग्ने छुट्टाछुट्टै आरोहण मार्ग छन्। स्थानीय समुदायले समेत तिनलाई अलग पहिचान भएका चुचुराका रूपमा चिन्ने गरेका छन्।
‘एउटा चुचुरो आरोहण गर्नु अर्को चुचुरोमा पुग्नु होइन। प्रत्येकको आरोहण फरक लक्ष्य हो र त्यसका लागि छुट्टै आरोहण अभियान आवश्यक पर्छ,’ शेर्पाले भने।
उनले आठ हजार मिटरभन्दा माथिका चुचुराको आरोहणका लागि असाधारण शारीरिक क्षमता, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वक तयारी आवश्यक पर्ने भएकाले प्रत्येक शिखरको आरोहणलाई छुट्टै पर्वतारोहण उपलब्धिका रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए।
यस विषयलाई प्राविधिक आधारसहित अघि बढाउन विज्ञ टोलीसमेत गठन गरिएको छ। मधुसूदन अधिकारीको नेतृत्वमा पाँच सदस्यीय टोलीले ती चुचुरालाई छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधारसहित विस्तृत प्रस्तुति दिने जनाइएको छ।
शेर्पाले नेपालको उद्देश्य आठ हजारी हिमालको सङ्ख्या बढाउनु मात्र नभई ती चुचुराको अलग पहिचान, स्थानीय नाम, भौगोलिक विशेषता र छुट्टाछुट्टै आरोहण मार्गलाई अन्तर्राष्ट्रिय रूपमा उचित मूल्याङ्कन गराउनु रहेको स्पष्ट पारे।
एनएमएको आतिथ्यमा भइरहेको यूआईएको साधारणसभामा पाँच महादेशका ४५ देशबाट ९५ जना प्रतिनिधि सहभागी भएका छन्। नेपालमा यसअघि सन् १९८२ र २०११ मा यूआईएको साधारणसभा आयोजना भएको थियो। यो तेस्रो आयोजना हो।
सन् १९८२ को भेलाले पर्वतीय वातावरण संरक्षण, प्राकृतिक स्रोतको हेरचाह र स्थानीय समुदायको सांस्कृतिक पहिचानको सम्मानमा जोड दिँदै काठमाडौं घोषणापत्र जारी गरेको थियो।
साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा यूआईएका अध्यक्ष पिटर मुइरले नेपालमा हालै भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको गम्भीरता स्मरण गराएको बताए। उनले पर्वतीय समुदायप्रति ऐक्यबद्धता जनाउँदै पर्वतारोहणमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिए।
साधारणसभाअघि अक्टोबर २७ र २८ मा काठमाडौंमा तेस्रो यूआईएए पर्वतीय सुरक्षा गोष्ठीसमेत आयोजना गरिएको थियो। गोष्ठीमा विभिन्न देशका ६० भन्दा बढी पर्वतारोही, चिकित्सक, उद्धारकर्ता, प्यारामेडिक्स, बिमा प्रतिनिधि तथा विज्ञ सहभागी भएका थिए।
सहभागीहरूले नुवाकोटको ककनीस्थित स्काउट परिसरमा व्यावहारिक उद्धार अभ्यास तथा प्रशिक्षणसमेत लिएका थिए।




