रौतहट, १३ कार्तिक। भारतको ओडिशास्थित पुरीमा रहेको प्रसिद्ध श्री जगन्नाथ मन्दिरको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। चक्रवात अर्णबको भीषण हावाहुरी र मुसलधारे वर्षाका बीच पनि मन्दिरको शिखरमा रहेको ध्वजा परिवर्तन गरिएको दृश्यले श्रद्धालुहरूको ध्यान आकर्षित गरेको छ।
भिडियोमा करिब २१४ देखि २१५ फिट अग्लो मन्दिरको शिखरमा तीन जना सेवक वर्षा र तीव्र हावाको सामना गर्दै ध्वजा परिवर्तन गर्न पुगेको देखिन्छ। उनीहरू हातमा दीप बोकेर शिखरमा चढेको र मन्दिरको परिक्रमा गर्दै पुरानो ध्वजा हटाएर नयाँ ध्वजा फेरेको दृश्य भिडियोमा देखिन्छ।
तीव्र वर्षाका बाबजुद दीपको ज्योति निभेको नदेखिएपछि श्रद्धालुहरूले यसलाई भगवान् जगन्नाथको चमत्कारका रूपमा व्याख्या गरेका छन्।
भीषण आँधीमा पनि रोकिएन परम्परा
जगन्नाथ मन्दिरमा प्रत्येक दिन ध्वजा परिवर्तन गर्ने परम्परा छ। यसलाई ‘चुनरा सेवा’ भनिन्छ। यो परम्परा शताब्दीयौँदेखि निरन्तर चल्दै आएको धार्मिक विश्वाससँग जोडिएको छ।
मन्दिरको शिखरमा रहेको नीलचक्रमा फहराइने पतितपावन बाणा (ध्वजा) परिवर्तन गर्नु सेवकहरूको नियमित धार्मिक जिम्मेवारी हो। खराब मौसम र प्रतिकूल परिस्थितिमा पनि यो परम्परा निरन्तर कायम राखिएको भन्दै भक्तहरूले प्रशंसा गरेका छन्।
ध्वजामा बन्यो रहस्यमय गाँठो
यस घटनालाई थप चर्चामा ल्याएको विषय हो– ध्वजामा देखिएको विशेष गाँठो। सामाजिक सञ्जालमा यसलाई ‘शून्य ग्रन्थि’ अर्थात् ‘जीरो नट’ भनिएको छ।
दाबीअनुसार चक्रवातको तीव्र हावाका कारण ध्वजाको केही भाग च्यातिएको थियो भने त्यसमा अनौठो गाँठोसमेत बनेको थियो। नीलचक्रमा भक्तहरूले चढाएका साना ध्वजाहरू पनि हावाको वेगले च्यातिएर तल खसेका थिए।
मन्दिरका चुनरा तथा दैतापति सेवकहरूसँग जोडेर सार्वजनिक गरिएका विवरणमा यस्तो गाँठोलाई शुभ संकेतका रूपमा लिने धार्मिक मान्यता रहेको उल्लेख गरिएको छ। भक्तहरूको विश्वासमा यसले भगवान् जगन्नाथले सम्भावित संकट र विपत्तिलाई रोकिदिएको संकेत गर्छ।
यद्यपि, यसलाई धार्मिक विश्वासका रूपमा लिनुपर्ने हुन्छ। यसको कुनै वैज्ञानिक पुष्टि सार्वजनिक भएको छैन।
१३५ किलोमिटर प्रतिघण्टासम्मको हावामा पनि कायम रह्यो आस्था
चक्रवात अर्णबले ओडिशा र आन्ध्र प्रदेशका तटीय क्षेत्रमा प्रभाव पारेको विवरणमा उल्लेख छ। यस क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको र हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको दाबी गरिएको छ।
पुरी क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित भए पनि जगन्नाथ मन्दिरको दैनिक धार्मिक परम्परा भने निरन्तर रहेको भिडियोमा देखिन्छ।
सामाजिक सञ्जालमा चमत्कारको चर्चा
इन्स्टाग्रामका विभिन्न पेजबाट सार्वजनिक गरिएको भिडियोमा श्रद्धालुहरूले भगवान् जगन्नाथप्रति आस्था व्यक्त गरेका छन्। कतिपयले ‘चक्रवात अर्णबले पनि प्रभु जगन्नाथको ध्वजा झुकाउन सकेन’ भन्दै प्रतिक्रिया दिएका छन्।
मन्दिरको ध्वजा हावाको दिशाविपरीत फहराउने गरेको विषय पनि लामो समयदेखि चर्चामा रहँदै आएको छ। यसलाई भक्तहरूले दैवी शक्तिसँग जोडेर हेर्ने गरेका छन् भने वैज्ञानिक दृष्टिकोणबाट मन्दिरको बनावट र हावाको प्रवाहसँग सम्बन्धित हुन सक्ने व्याख्या गरिन्छ।
प्रकृतिको भीषण प्रकोपबीच पनि धार्मिक परम्परा निरन्तर रहेको दृश्यले पुरीको जगन्नाथ मन्दिर फेरि चर्चामा आएको छ। भक्तहरूका लागि यो घटना केवल एउटा भिडियो मात्र नभई भगवान् जगन्नाथप्रतिको अटुट आस्था र विश्वासको प्रतीक बनेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।




