काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सुरुवाती ६ खेलमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। विदेशी स्टार खेलाडीको उपस्थितिका बीच नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाउँदै प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरेका छन्।
प्रतियोगिताका पहिलो ६ वटै खेलमा ‘प्लेयर अफ द म्याच’ नेपाली खेलाडी घोषित भएका छन्। पहिलो खेलमा शेर मल्ल, दोस्रोमा कमलसिंह ऐरी, तेस्रोमा युनिश विक्रम सिंह ठकुरी, चौथोमा दीपेन्द्रसिंह ऐरी, पाँचौँमा राहुल यादव र छैटौँमा सोमपाल कामी उत्कृष्ट खेलाडी बनेका हुन्।
पहिलो तीन खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत पुरस्कार जितेका थिए भने त्यसपछि ब्याटिङ र अलराउन्ड प्रदर्शनमार्फत नेपाली खेलाडीले आफ्नो प्रभाव देखाएका छन्।
लुम्बिनी लायन्सका शेर मल्लले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चार ओभरमा ११ रन दिएर तीन विकेट लिएका थिए। त्यस्तै, चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध चार विकेट लिएका थिए। तेस्रो खेलमा कर्णाली याक्सका युनिश विक्रम सिंह ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध तीन विकेट लिएका थिए।
चौथो खेलमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले पोखरा एभेन्जर्सविरुद्ध ३६ बलमा अविजित ५१ रन बनाउँदै एक विकेटसमेत लिए। पाँचौँ खेलमा जनकपुरका युवा बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिए।
छैटौँ खेलमा भने कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। उनले विराटनगर किङ्सविरुद्ध चार विकेट लिनुका साथै ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाए।
ब्याटिङमा लोकेश बमको दबदबा
सुरुवाती ६ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किङ्सका लोकेश बम शीर्षस्थानमा छन्। उनले कर्णाली याक्सविरुद्ध ५२ बलमा ८७ रन बनाएका थिए। उनको पारीमा तीन चौका र नौ छक्का समावेश थिए।
लोकेशपछि सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी ७८ रनसहित दोस्रो स्थानमा छन्। जनकपुरका विदेशी खेलाडी मोइन अली ७७ रनसहित तेस्रो स्थानमा रहँदा कर्णालीका अरिफुल इस्लाम ७५ र पवन सर्राफ ७३ रनसहित शीर्ष पाँचमा छन्।
अहिलेसम्म प्रतियोगितामा पाँच अर्धशतक बनेका छन्। तीमध्ये तीन नेपाली र दुई विदेशी खेलाडीले बनाएका छन्। सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी पनि लोकेश बम नै हुन्। उनले दुई खेलमा १० छक्का प्रहार गरेका छन्।
बलिङमा १६ वर्षीय राहुल यादव चम्किए
बलिङतर्फ जनकपुर बोल्ट्सका १६ वर्षीय युवा खेलाडी राहुल यादवले उत्कृष्ट प्रदर्शन गरेका छन्। सुरुवाती ६ खेलमा ६ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन्।
उनले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिएका थिए। त्यस्तै, कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेलले पाँच–पाँच विकेट लिएका छन्।
विदेशी स्टारका बीच नेपाली खेलाडीको आत्मविश्वास
यस संस्करणमा डेभिड वार्नर, मोइन अली, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र डेविड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी सहभागी छन्। तर सुरुवाती ६ खेलको प्रदर्शनले नेपाली खेलाडी पनि विदेशी स्टारसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाएको छ।
प्रतियोगिता अझै सुरुवाती चरणमै रहेकाले आगामी खेलहरूमा पनि नेपाली खेलाडीले यही प्रदर्शनलाई निरन्तरता दिन सक्छन् वा सक्दैनन् भन्ने हेर्न बाँकी छ। तर सुरुवाती नतिजाले नेपाली क्रिकेटप्रेमीमा उत्साह थपेको छ।




