काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएको निर्देशन बारम्बार पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको पाइएको छ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षसँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मङ्सिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशन पालना नभएको मन्त्रालयको भनाइ छ।
निर्देशनको अवज्ञा गरेको भन्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एनप्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ।




