काठमाडौं । सञ्चारगृहभित्रै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिएको र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन्।
स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा मौन धर्ना दिन लागिएको हो। कार्यक्रममा सहभागी हुन पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरलाई उनीहरूले आह्वान गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै महासंघका पूर्वपदाधिकारीहरूले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर त्रास सिर्जना गर्ने र पत्रकारलाई नियन्त्रणमा लिने सरकारी कदमप्रति गम्भीर आपत्ति जनाएका छन्।
नेपाल प्रेसका पत्रकार सुवेदीलाई मीनभवनस्थित समाचार कक्षबाट, बराललाई थापागाउँस्थित कार्यालयबाट तथा नयाँ पत्रिकाका नवराज मैनाली र दियोपोस्टका सुदीप विश्वकर्मालाई पक्राउ गर्न सादा पोशाकका प्रहरी परिचालन गरिएको घटनाप्रति उनीहरूले ध्यानाकर्षण गराएका छन्।
सरकारको यस्तो शैलीलाई ‘नवतानाशाही’ र शाहीकालीन व्यवहारको संज्ञा दिँदै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चार क्षेत्रलाई आतंकित नबनाउन उनीहरूले माग गरेका छन्।
प्रकाशित समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा अदालत जाने वैधानिक बाटो हुँदाहुँदै राज्यले दमनको बाटो रोज्नु स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, पूर्वउपाध्यक्षहरू खिलबहादुर भण्डारी र उदय जिएम, निवर्तमान महासचिव रोसन पुरी तथा पूर्वमहासचिव पोषण केसी र उजिर मगरलगायत रहेका छन्।




