काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी कात्तिक २२ गतेसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
संस्थापनइतर समूहका नेता दीपकप्रसाद कुइँकेलका अनुसार आइतबारसम्म २५ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार थप २५ जिल्लामा अधिवेशन भइरहेको छ । प्रतिकूल मौसमका कारण निर्धारित कार्यतालिका प्रभावित भएपछि सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने समय कात्तिक २२ गतेसम्म पुर्याइएको उनले बताए ।
सबै जिल्लाको अधिवेशन सकिएपछि मंसिर ४ गते सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको कुइँकेलले जानकारी दिए ।
उनका अनुसार संस्थापनइतर समूहले आफ्नो महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने निश्चित गरेको छ । महाधिवेशनको उद्घाटन तथा बन्दसत्र खुलामञ्चमा, भोजनको व्यवस्था भृकुटीमण्डपमा र मतदान राष्ट्रियसभा गृहमा गर्ने तयारी गरिएको छ ।
आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
यसअघि गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । यता संस्थापनइतर समूह पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेस दुई समूहमा विभाजित भएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
यसैबीच नेता कुइँकेलले दुई समूहबीच तत्काल संवाद र एकताको सम्भावना न्यून रहेको बताएका छन् । वडा अधिवेशनअघि नै संयुक्त कार्यतालिका बनाएर अघि बढ्ने प्रस्ताव गरे पनि संस्थापन पक्षबाट चासो नदेखाइएको उनको दाबी छ ।
कानुनीभन्दा पनि राजनीतिक सहमतिबाट विवाद समाधान गर्ने प्रयास गरिएको भए पनि परिस्थितिका कारण छुट्टै महाधिवेशन गर्नुपर्ने अवस्था आएको उनले बताए ।




