नागढुङ्गा सुरुङमार्गको पहिलो दिनमै ११ लाख ७० हजार टोल संकलन, ७ हजार ५०० सवारीसाधनले गरे प्रयोग

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि टोल दस्तुर संकलन सुरु भएको पहिलो दिनमै करिब ११ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आइतबार मात्रै करिब ७ हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार कात्तिक १५ गते राति १२ बजेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क लिन थालिएको हो । पहिलो दिनमै आयोजनाले गरेको प्रारम्भिक अनुमानभन्दा बढी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

आयोजनाले दैनिक करिब पाँच हजार सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरेको थियो । तर वास्तविक प्रयोगकर्ता संख्या ७ हजार ५०० हाराहारी पुगेको छ । सुरुङमार्गको औसत दैनिक सवारी चाप करिब ८ हजार ५०० रहेको र दशैंका बेला दैनिक १० हजारभन्दा बढी सवारीसाधनले सडक प्रयोग गरेको पन्थीले बताए ।

आयोजनाका अनुसार सुरुङमार्ग प्रयोग शुल्कबाट वार्षिक ३५ देखि ४० करोड रुपैयाँसम्म संकलन हुने अनुमान गरिएको छ ।

इन्धन बचतका आधारमा शुल्क निर्धारण

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट इन्धन बचत, सवारीसाधनको मर्मतसम्भार खर्च र यात्रामा लाग्ने समयको बचतलाई शुल्क निर्धारणको आधार बनाइएको आयोजनाले जनाएको छ । तर नागढुङ्गा सुरुङमार्गको हकमा मुख्य रूपमा इन्धन बचतबाट हुने आर्थिक लाभलाई आधार मानिएको छ ।

हाल सवारीसाधनलाई चार वर्गमा विभाजन गरी टोल शुल्क निर्धारण गरिएको छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र फर्कँदा ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस तथा मिनी टिपर÷ट्रकका लागि क्रमशः ११५ र ८० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, बस तथा मझौला र ठूला ट्रकले प्रवेश गर्दा २६० र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० र फर्कने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ ।

मोटरसाइकललाई प्रवेश निषेध

सुरक्षाको कारण देखाउँदै मोटरसाइकललाई सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ । सुरुङभित्र सवारीसाधनको गति अधिकतम ५० किलोमिटर प्रतिघण्टामा सीमित गरिएको छ । सुरुङभित्र अनावश्यक रूपमा सवारी रोक्न र ओभरटेक गर्नसमेत पाइने छैन ।

टोल शुल्क भुक्तानीमा आरएफआईडी प्रणाली

टोल संकलनस्थलमा सवारीसाधनको जाम कम गर्न नगद, क्यूआर कोड र इलेक्ट्रोनिक टोल कलेक्सन अर्थात् आरएफआईडी प्रणालीबाट शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ ।

आरएफआईडी प्रणालीमार्फत एउटा सवारीसाधनलाई करिब ८ देखि १० सेकेन्डमै पार गराउन सकिने आयोजनाको भनाइ छ । नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई उक्त प्रणालीमा आबद्ध हुन आयोजनाले आग्रह गरेको छ ।

स्थानीयलाई छुट दिने प्रस्ताव

सुरुङमार्ग नियमित प्रयोग गर्ने स्थानीय तथा अन्य सवारीसाधनलाई शुल्कमा छुट दिने विषयमा पनि छलफल भइरहेको छ । यसका लागि सडक बोर्ड नेपाललाई अनुरोध पठाइएको र आवश्यक प्रक्रिया अघि बढिरहेको सूचना अधिकारी पन्थीले बताए ।

एम्बुलेन्सलाई भने सुरुदेखि नै टोल शुल्कमा छुट दिइएको छ । भीभीआईपी, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई छुट दिने प्रस्तावसमेत मन्त्रालयमा पठाइएको छ ।

२४ घण्टा उद्धार टोली परिचालन

सुरुङमार्गभित्र दुर्घटना वा आपत्कालीन घटना भए तत्काल उद्धार गर्न आयोजनाले २४ घण्टा उद्धार टोली परिचालन गरेको छ ।

आयोजनासँग दुईवटा एम्बुलेन्स, दुईवटा टोइङ भेहिकल र उद्धारका लागि १६ जना जनशक्ति रहेका छन् । सुरुङमार्गको पूर्वी र पश्चिमी दुवै प्रवेशद्वारमा एम्बुलेन्स चालक, प्यारामेडिक तथा उद्धार टोलीलाई २४ घण्टा तैनाथ गरिएको छ ।

सुरुङमार्ग प्रयोग बढ्दै जाँदा यात्राको समय, इन्धन खर्च र सवारीसाधनको सञ्चालन खर्च घट्ने अपेक्षा आयोजनाले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी