तिहार लक्षित काठमाडौं महानगरको कडा निर्णय : प्लास्टिकका फूल र माला बिक्रीमा पूर्ण प्रतिबन्ध, उल्लङ्घन गरे सामग्री जफत गरिने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नजिकिँदै गरेको दीपावली अर्थात् तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ।

महानगरपालिकाले स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गर्दै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलको कारोबार नगर्न अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गत महानगर प्रहरी बलले सूचना जारी गर्दै प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिएको छ।

नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र सर्वसाधारणलाई सहज रूपमा खरिद गर्न मिलोस् भन्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा बिक्रीस्थलसमेत तोकेको छ।

महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई फूल बिक्रीका लागि तोकेको छ।

त्यस्तै, चाबहिल क्षेत्रका एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि पनि स्वदेशी फूल तथा माला बिक्री गर्न पाइनेछ।

यसैगरी कमलादीको आईटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स, स्वयम्भूको धर्मचक्र पार्क, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीका विभिन्न स्थानलाई पनि बिक्रीस्थलका रूपमा तोकिएको छ।

त्यसका अतिरिक्त कालिमाटी, हाँडीगाउँ, सामाखुशी, महाराजगञ्ज, गोंगबु, चप्पलकारखाना, बालुवाटार, टेबहाल, लगन, जैसिदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल बिक्री गर्न सकिने महानगरले जनाएको छ।

महानगरपालिकाले स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली किसानलाई बजारको सुनिश्चितता तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी