एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, एक भारतीय नागरिकको मृत्यु, दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो भने फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर गोरक्षेपबाट फेरिचे पुगेको थियो।

नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा दुवै हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए। दुवै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्यअन्तर्गत चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ।

दुर्घटनामा दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन्। घाइते हुनेमा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन्।

घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

त्यस्तै, एयर डाइनेस्टीका पाइलट प्रजल केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी