काठमाडाैं, २२ कार्तिक । कुकुर तिहार नेपालीहरूको महान् पर्व यमपञ्चक (पाँचदिने तिहार) को दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइने विशेष पर्व हो। यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। हिन्दू संस्कृतिमा कुकुरलाई बफादार, इमानदार र पहरेदार प्राणीका रूपमा मात्र नभई, यमराजको दूत र वाहनका रूपमा पनि लिइन्छ।
धार्मिक मान्यताअनुसार कुकुरलाई मृत्युका देवता यमराजको दूत मानिन्छ। वैतरणी नदी तर्नका लागि कुकुरले बाटो देखाउने र सहयोग गर्ने विश्वास गरिन्छ। अर्काे पौराणिक कथा अनुसार पाण्डवहरू स्वर्ग जाने क्रममा युधिष्ठिरसँगै एउटा कुकुर (धर्मराजको रूप) पनि सँगै गएको थियो, जसले अन्त्यसम्म साथ दिएको कथा पाइन्छ। तान्त्रिक तथा पौराणिक ग्रन्थहरूमा कुकुरलाई भगवान् भैरवको वाहनको रूपमा पनि पूजा गरिएको छ।
यस दिन बिहान सबेरै उठी नदी, तलाउ वा घरमै स्नान गरी कुकुरलाई पूजा गरिन्छ। कुकुरको निधारमा अक्षता, चन्दन र अबिरको टीका लगाइदिइन्छ भने गलामा फूलको माला पहिर्याइन्छ। कुकुरलाई विभिन्न मीठा परिकारहरू (जस्तै: रोटी, दूध, मासु, विस्कुट आदि) खान दिइन्छ। यस दिन घरपालुवा कुकुर मात्र होइन, सडकमा बस्ने छाडा कुकुरहरूलाई समेत आहारा खुवाउने चलन छ।
कुकुर तिहारले मानिस र जनावरबीचको गहिरो आत्मीयता, सहअस्तित्व र प्रेमलाई झल्काउँछ। घरको रखवारी गर्ने र मानव समाजलाई विभिन्न किसिमले सुरक्षा दिने यो इमानदार प्राणीप्रति कृतज्ञता र धन्यवाद व्यक्त गर्ने यो एक अद्भुत अवसर हो।




