काठमाडौं । नेपाली लोकदोहोरी संगीतका सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र चर्चित गायक तथा संगीतकार वसन्त थापाको स्वरमा नयाँ लोकदोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ।
मौलिक लोकभाका, गाउँले परिवेश, नेपाली जनजीवन र मायाप्रेमका भावनालाई समेटेर तयार पारिएको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ विशेष आकर्षण पैदा गर्ने अपेक्षा गरिएको छ।
‘एसएस सिरिज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द रहेका छन् भने संगीत स्वयं वसन्त थापाले भरेका छन्। लामो समयदेखि नेपाली लोकसंगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विष्णु माझी र वसन्त थापाको सुमधुर स्वरको संयोजनले गीतलाई थप आकर्षक बनाएको छ।
विदेश र सहरको व्यस्त जीवनशैलीबाट दिक्क भएर आफ्नै गाउँघर, पाखापखेरा र प्राकृतिक परिवेश नै प्यारो लाग्ने भाव गीतमा प्रस्तुत गरिएको छ। लाहुरे परिवेश, गाउँको मौलिक जीवनशैली, मेलापात, मायाप्रेम र नेपाली ग्रामीण संस्कृतिको सुन्दर चित्रण गीतका प्रमुख आकर्षण हुन्। विष्णु माझीको जादुमय स्वर र वसन्त थापाको ठेट लोकगायकीले गीतलाई श्रवणीय बनाएको छ।
‘डाँडै फुर्के सल्लो’ र ‘सालको पातको टपरी’ जस्ता अत्यधिक लोकप्रिय गीतमा सहकार्य गरिसकेका विष्णु माझी, वसन्त थापा र नवराज पन्तको केही समयको अन्तरालपछिको पुनर्मिलनले पनि ‘फूल प्याउलीको’लाई थप चर्चामा ल्याएको छ। नृत्यप्रधान शैलीमा तयार पारिएको यस गीतले मौलिक लोकसंगीतसँगै मनोरञ्जनको स्वादसमेत पस्किएको छ।
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनाइएको छ। चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य भिडियोमा देख्न सकिन्छ। लाहुरे गाउँ फर्किएको परिवेशलाई आधार बनाएर तयार पारिएको भिडियोमा मेलापात, घाँसदाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे र नेपाली गाउँघरको मौलिक रहनसहनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। हिमशृङ्खला र रमणीय पहाडी भूगोलका दृश्यले भिडियोको सौन्दर्यलाई थप निखारेका छन्।
भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका छन्। मनोज कार्कीले सम्पादन गरेको भिडियोका निर्माता अर्जुन बोहरा हुन्।
यस गीतलाई बजारसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका निर्माता अर्जुन बोहरा नेपाली संगीत व्यवसायमा स्थापित नाम हुन्। संगीत उद्योग संघका पूर्वअध्यक्षसमेत रहिसकेका बोहरा सफल संगीत व्यवसायीका रूपमा परिचित छन्। नेपाली लोकसंगीतको प्रवर्द्धन, कलाकारको सिर्जनालाई बजारसम्म पुर्याउने तथा संगीत व्यवसायलाई व्यवस्थित बनाउने अभियानमा उनको योगदान रहँदै आएको छ।
विशेषगरी लामो समयदेखि श्रोता तथा दर्शकको मन जित्दै आएका तीन सर्जक विष्णु माझी, वसन्त थापा र नवराज पन्तको सिर्जनात्मक सहकार्य, आकर्षक भिडियो र संगीत व्यवसायी अर्जुन बोहराको व्यवस्थापकीय सक्रियताले ‘फूल प्याउलीको’लाई थप बलियो बनाएको छ।
नेपाली मौलिक लोकसंगीतको स्वादलाई आधुनिक प्रस्तुतिसँग जोड्दै तयार पारिएको यस गीतले बजारमा छुट्टै पहिचान बनाउनेमा निर्माण टोली विश्वस्त देखिएको छ। गीतले मनोरञ्जनसँगै नेपाली गाउँघर, संस्कृति र मौलिक जीवनशैलीको सम्झनालाई समेत ताजा बनाउने अपेक्षा गरिएको छ।




