जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

त्रिवेणी (रुकुमपश्चिम), २३ कात्तिकः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् ।

आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा १३ जना घाइते भएका छन् । थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे १ ज ३११२ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

घाइतेमध्ये १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र आठ वर्षीय युवराज थापाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक गिरीले बताए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत पठाइएको छ ।

त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ । उनीहरूलाई उपचारका लागि नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ । जिपमा सवार सबै आठविसकोट नगरपालिकाका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी