काठमाडौं । तिहारको उल्लासका नाममा मध्यरातिसम्म चर्को आवाज निकाल्दै मोटरसाइकल पड्काउने र सडकमा सर्वसाधारणलाई त्रसित बनाउने गतिविधिविरुद्ध बौद्ध प्रहरी एक्सनमा उत्रिएको छ।
सार्वजनिक सडकमा अनावश्यक आवाज निकाल्दै होहल्ला गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बौद्ध प्रहरी वृत्तले गोकर्णेश्वर नगरपालिका तथा बौद्ध क्षेत्रअन्तर्गत जोरपाटी, नयाँबस्ती, गोकर्णलगायतका स्थानबाट त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। तिहारको समयमा राति अबेरसम्म चर्को आवाज निकाल्ने, मोटरसाइकल पड्काउने र सर्वसाधारणलाई त्रसित बनाउने गतिविधि बढेपछि बौद्ध प्रहरी वृत्तका डीएसपी जित महराको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बग्गीखाना पठाइनेछ। कानुनी प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित चालकलाई मोटरसाइकल फिर्ता गरिने प्रहरीले जनाएको छ।
यसैबीच, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले पनि यस्ता गतिविधिले स्थानीय बासिन्दाको शान्ति र सुरक्षामा असर पार्ने भएकाले नियन्त्रण तथा नियमन आवश्यक रहेको बताएका छन्।
तिहार पर्व खुसी, उमङ्ग र आपसी सद्भाव साटासाट गर्ने अवसर भए पनि पर्वको नाममा अरूलाई दुःख दिने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधि स्वीकार्य नहुने प्रहरीको भनाइ छ। प्रहरीले सवारी चालकलाई ट्राफिक नियम, ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड र सार्वजनिक शान्तिको ख्याल गर्दै जिम्मेवार ढङ्गले सवारी चलाउन आग्रह गरेको छ।




