नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन शाहद्वारा शुभकामना व्यक्त

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाल संवत् ११४७ अर्थात् न्हूदँया भिन्तुना तथा म्हः पूजाको अवसरमा प्रधानमन्त्री बालेन शाहले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गराउनुभएको नेपाल संवत् चन्द्रमामा आधारित नेपालको मौलिक समयचक्र र पहिचान भएको बताउनुभएको छ।

उहाँले नेवार समुदायमा हर्षोल्लासका साथ मनाइने म्हः पूजाको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै आफ्नै शरीर र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउँदै आएको छ।

त्यस्तै, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाको प्रसङ्ग उल्लेख गर्दै उहाँले कृषिकर्मका सहयात्री गोरु तथा कृषि औजारको पूजा गरी गोवर्धन पूजा र हली तिहार मनाउने परम्पराको महत्त्वसमेत स्मरण गर्नुभएको छ।

तिहारका अवसरमा देउसी–भैलोले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले मौलिक चाडपर्वहरूले आपसी रिसराग भुलेर सामाजिक एकता, सहिष्णुता र सद्भावको भावना बलियो बनाउन प्रेरित गरून् भन्ने कामना गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्