अमेरिकामा पत्नी ममता भट्टको हत्या अभियोग खेपिरहेका नरेश भट्टले किशोरावस्थामा माओवादी विद्रोही समूहबाट अपहरणमा परेको र शारीरिक तथा यौन दुर्व्यवहार भोगेको बयान दिएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतमा जारी सुनुवाइका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
अदालतमा आफ्नै प्रतिरक्षामा साक्षीका रूपमा प्रस्तुत भएका नरेशले आफू १३–१४ वर्षको हुँदा माओवादी विद्रोहीले अपहरण गरेको बताए । माओवादीको नियन्त्रणमा दुईदेखि तीन साताभन्दा बढी समय रहँदा आफूले शारीरिक, यौन तथा मानसिक दुर्व्यवहार भोगेको उनको भनाइ छ ।
बाल्यकालमा भोगेको उक्त घटनाले आफूलाई अहिले पनि मानसिक रूपमा असर गरिरहेको नरेशले बताएका छन् । ती अनुभवबारे कुरा गर्दा आफूलाई नराम्रो महसुस हुने गरेको पनि उनले बयान दिएका छन् ।
नरेशले बयानकै क्रममा बाल्यकालमा आफ्नी फुपूले आत्मदाह गरेको घटना देखेको र भाइ हराउँदा आफूले त्यसका लागि दोषी महसुस गरेको पनि सुनाएका थिए । आफू मानसिकरूपमा स्वस्थ नरहेको पुष्टि गराउने प्रयासस्वरूप उनले यी प्रसंग सुनाएका हुन् ।
नरेशमा पीटीएसडी रहेको मनोवैज्ञानिकको निष्कर्ष
नरेशको प्रतिरक्षा पक्षले अदालतमा मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो । रोजेनफेल्डले नरेशको मूल्याङ्कनपछि उनमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) रहेको निष्कर्ष सुनाएका छन् ।
पीटीएसडी गम्भीर आघातजन्य घटना भोगेपछि विकसित हुन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी अवस्था हो । यसका लक्षणमा दुःस्वप्न देखिने, पुराना घटनाको सम्झना बारम्बार आउने, निद्रामा समस्या हुने, सजिलै झस्किने र दोषबोध महसुस गर्नेजस्ता समस्या पर्न सक्छन् ।
मनोवैज्ञानिक रोजेनफेल्डले नरेशले आफूमा देखिएका लक्षण बढाइचढाइ गरेको संकेत परीक्षणमा नदेखिएको र उनको पीटीएसडीसम्बन्धी मूल्याङ्कनका लागि आफूहरूसँग बलियो आधार रहेको दावी गरे ।
नरेशले पत्नी ममताको शव भेटेपछि आफू अत्यन्त आत्तिएको, शरीर अनियन्त्रित रूपमा काँपेको र स्पष्ट रूपमा सोच्न नसकेको दाबी गरेका छन् । रोजेनफेल्डले यस्तो अवस्थामा व्यक्तिले आत्तिएर स्पष्ट निर्णय गर्न नसक्नु पीटीएसडीसँग मेल खान सक्ने बताए ।
तर, मनोवैज्ञानिकले नरेशको व्यवहारका सबै पक्षलाई पीटीएसडीका आधारमा व्याख्या गर्न नसकिने पनि स्पष्ट पारे । विशेषगरी शव टुक्र्याउने र त्यसलाई लुकाउने कार्यलाई पीटीएसडीले स्वतः व्याख्या नगर्ने उनको भनाइ थियो । उनले नरेशले त्यसबेला वास्तवमा के सोचिरहेका थिए भन्ने कुरा आफ्नै मूल्याङ्कनबाट निश्चित गर्न नसकिने र उनको बयान सत्य हो वा होइन भन्ने निर्णय जूरीले गर्नुपर्ने बताए ।
पीटीएसडीले हत्या अभियोगबाट उन्मुक्ति मिल्दैन
नरेश भट्टमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) रहेको मनोवैज्ञानिकको निष्कर्षले उनको प्रतिरक्षा पक्षलाई केही सहयोग पुग्न सक्छ । प्रतिरक्षा पक्षले घटनाका बेला उनी गम्भीर मानसिक आघातमा रहेको र त्यसले उनको सोच्ने तथा निर्णय गर्ने क्षमतामा असर पारेको तर्क गर्न सक्छ ।
अमेरिकाको भर्जिनिया राज्यको कानुनअनुसार पीटीएसडी हुनु र कानुनी रूपमा मानसिक अस्वस्थताका कारण अपराधको जिम्मेवारी लिन नसक्ने अवस्था हुनु फरक कुरा हुन् । मानसिक रोगको निदान हुँदैमा अभियुक्तले हत्या गरेको भए पनि उन्मुक्ति पाउँदैनन् । त्यसका लागि अपराध गर्दाको समयमा आफ्नो कार्यको प्रकृति वा त्यसको गलतपन बुझ्न नसक्ने अवस्था रहेको प्रमाणित गर्नुपर्छ ।
यद्यपि, नरेशको मानसिक स्वास्थ्यसम्बन्धी अवस्थालाई जूरीले घटनाक्रम र उनको व्यवहारको मूल्याङ्कन गर्दा विचार गर्न सक्छ । दोषी ठहर भएमा पनि मानसिक आघातलगायतका परिस्थितिले सजाय निर्धारणमा भूमिका खेल्न सक्छन् । तर पीटीएसडीकै आधारमा सजाय घट्ने वा हत्या अभियोगबाट छुटकारा पाइने निश्चित हुँदैन ।
नरेशले अदालतमा ममताले आत्महत्या गरेको दाबी गरेका छन् । उनका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममतालाई घरको सुत्ने कोठामा अचेत अवस्थामा भेटेका थिए । उनले ममतालाई बचाउने प्रयास गरेको तर सफल नभएपछि आफू आत्तिएको बताएका छन् ।
तर, ममताको शव व्यवस्थापन गरेको कुरा भने उनले अदालतमा स्वीकार गरेका छन् । शवलाई काटेर विभिन्न फोहोर फाल्ने ठाउँमा लगेर फालेको उनले बयान दिएका छन् । ममता हराएको भन्दै प्रहरीलाई जानकारी गराएका नरेशले यसअघि आफूलाई उनको अवस्थाबारे थाहा नभएको बताएका थिए ।




