काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्र निर्वाचनबाट जनप्रतिनिधि चुन्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने बताए।
उनले भने, ‘लोकतन्त्रका आधारभूत मान्यता, विधि, पद्धति र संस्थागत स्वतन्त्रताको सम्मान पनि उत्तिकै आवश्यक छ। सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेको छ। राज्यका निकाय, संवैधानिक अङ्ग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढाइएको छ।’
कर्मचारीतन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको र कर्मचारीहरू त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको बताए। दुई तिहाइ निकटको बहुमतसहित आएको सरकार आफ्नै राजनीतिक भार सम्हाल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे।
सरकार र सरकार सञ्चालन गर्ने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समन्वयको अभाव देखिएको बताए। सरकार र पार्टीका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत तालमेल नरहेको उनको भनाइ छ।
उनले भने, ‘सरकारलाई आज सरकार चलाउन गाह्रो भइरहेको छ। रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्थामा ऊ पुगेको छ। सरकारलाई आफ्नै पार्टीले सहयोग गरिरहेको छैन भन्ने आधारमा त्यहाँभित्र यो पक्ष र त्यो पक्ष भन्ने अवस्था सिर्जना भएको छ।’
सरकारमाथि उठेका प्रश्नहरूबाट ध्यान मोड्न बालुवाटार र ज्वागलबाट प्रचार अभियान सञ्चालन भइरहेको आरोपसमेत लगाए। प्रधानमन्त्री र उनका निकट व्यक्तिहरू तथा प्रमुख सल्लाहकारमार्फत भइरहेको भनिएको प्रचारले लोकतन्त्रलाई बलियो बनाउने काम नगरेको उनले बताए।
सरकारले प्रश्न रोक्नको लागि कांग्रेसलाई लक्षित गरी घेराबन्दी र बदनाम गर्ने प्रयास भइरहेको दाबी गरे। विगतमा आफूसँगै काम गरेका व्यक्तिहरूलाई एजेन्टका रूपमा प्रयोग गरेर कांग्रेसलाई क्षति पुर्याउने प्रयास भएको बताए।
सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको नीति रहेको स्पष्ट पारे। सरकारले अहिलेको जस्तो गतिविधि नसच्याए गत भदौ २४ मा जस्तै अहिलेको सरकारको नेतृत्व गरेकाहरुले हेलिकप्टर चढेर भाग्नुपर्ने परिस्थिति आउनसक्ने चेतावनी दिए।
जेनजी आन्दोलनपछि पनि देशको अवस्था अझै साम्य भइनसकेको बताए। उनले भने, ‘अहिले पनि देश सम्हालिएको छैन। यो कुनै पनि बेलामा भुसको आगो जसरी सल्किनसक्छ भन्ने कुरा सरकारले बुझोस् । यो कुनै पनि स्वरूपमा आन्दोलन वा विद्रोह हुनसक्छ।’




