काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल सर्वोच्च अदालतबाट राहत मिलेको छैन।
आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्काल अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
इजलासले कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली नगर्नुपर्ने कारण पेश गर्न सरकारलाई आदेश दिएको छ। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ।
सबै विपक्षीको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइको प्रक्रिया अघि बढाउनेछ।




