बराह सहकारीका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ, ५ अर्ब ८८ करोड बिगो हिनामिनाको आरोप

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गरेका छन् ।

यसअघि गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको उल्लेख गर्दै पूर्वका बचतकर्ताले न्याय पाउने दिशामा कदम अघि बढेको बताएका छन् ।

गुरुङले एक वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा बचतकर्ताले सुनाएका पीडाले आफूलाई निरन्तर झकझकाइरहेको बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पीडितलाई न्याय दिलाउन खोजी तीव्र पारिएको उनको भनाइ छ ।

उनले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाको आरोप लागेका मुख्य योजनाकारलाई कानुनी कठघरामा ल्याइएको र बाँकी आरोपितको खोजी तथा कारबाही प्रक्रिया पनि अघि बढाइने बताएका छन् ।

बराह सहकारीका सञ्चालकहरूले धरानसहित देशभरका ४ हजार ७७२ जनाभन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि संस्थाका अध्यक्ष लामिछाने फरार रहेका थिए ।

संस्थाका अध्यक्षसहित सञ्चालकहरू फरार भएपछि रकम फिर्ताको माग गर्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो ।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले सहकारीमा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ ।

प्रहरीको अभियोगपत्रअनुसार बचतकर्ताको रकममध्ये सबैभन्दा बढी हिनामिना गरेको आरोप शिवकुमार लामिछानेमाथि छ । उनले मात्रै २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी