काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको दोस्रो क्वालिफायर खेल आज हुँदैछ। दोस्रो क्वालिफायर खेलमा साविक उपविजेता रहेको सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ।
पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्सले दोस्रो क्वालिफायर्सका लागि चितवन राइनोजसँग खेल्नेछ। त्यस्तै एलिमिनेटरमा काठमाडौँ गोर्खाजमाथि ६१ रनको जित दर्ता गरेको चितवन राइनोजले पहिलोपटक दोस्रो क्वालिफायर खेल्न लागेको हो।
पहिलो संस्करणमा प्लेअफ पुगेर पनि एलिमिनेटरमा कर्णाली याकसँग पराजित भएको चितवनले दोस्रो संस्करणमा सातौं स्थानमा रहेर लिग चरणमै आफ्नो यात्रा सकेको थियो तेस्रो संस्करणमा आइपुग्दा चितवन पहिलो पटक दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
सुदूरपश्चिम रोयल्सका लागि भने यो नयाँ यात्रा होइन। पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल खेलेको यो टोली लगातारको साविक उपविजेता हो।
यी दुई टोलीले आज अपरान्न ५ बजे त्रिवि क्रिकेट स्टेडियममा फाइनल खेल्नको लागि प्रतिस्पर्धा गर्नेछन्।




