निर्वाचनको धक्का अस्थायी हो, निराश नभई अघि बढ्न कार्यकर्तालाई विद्यादेवी भण्डारीको आह्वान

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय अस्थायी भएको बताएकी छन्।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनको हारबाट निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी हुन्।

भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने उल्लेख गर्दै कमजोरी पहिचान र सुधार गरेर आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्ने बताइन्।

सक्रिय राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै उनले व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन फर्किएको बताएकी छन्।

उनले आफूलाई अब कुनै पनि पदप्रति लोभ नरहेको उल्लेख गर्दै मुलुकको शान्ति सुरक्षा, शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय छविका विषयमा समेत चिन्ता व्यक्त गरिन्।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई व्यवहार र संगठन सञ्चालनमा लागू गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीका कमिटीलाई चुस्त, कार्यकारी र जिम्मेवार बनाउनुपर्ने बताइन्।

त्यस्तै, युवा पुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न उद्यमशीलता विकास तथा रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका क्षेत्रमा पारदर्शी ढंगले काम गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी