काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्ति र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको भीषण संघर्ष हुने बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नभएको बताएका हुन्।
थापाले आगामी निर्वाचन सामान्य नहुने उल्लेख गर्दै विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। उनले विगतको निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न नसकेको, प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको र आपसी सहकार्य कायम गर्न नसकेको बताएका छन्।
उनका अनुसार आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुने रणनीति आवश्यक छ।
थापाले आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्। त्यसका लागि विगतको निर्वाचनको समीक्षा गर्दै सही चुनावी रणनीति तय गर्नुपर्ने उनको भनाइ छ।
उनले पार्टी पुनर्निर्माण, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी तथा संविधान रक्षाका लागि कानुनी संघर्षलाई पनि पार्टीको प्रमुख कार्यभारका रूपमा प्रस्तुत गरेका छन्।




