काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब नियमित रुपमा आयोजना हुने बताएका छन्। आज(आइतबार) सामाजिक सञ्जालबाट सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भिरतापूर्वक काम गर्ने बताएका हुन्।
उनले हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म ९ वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष रहेको पनि बताए।
उनले भने,‘हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म ९ वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष हो। अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धिमा गम्भिरतापूर्वक काम गर्नेछ।’ उनले अब हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करणबारे पनि जानकारी दिएका छन्।
उनले भनेका छन्,‘प्रिय कर्णाली,घरेलु खेलकुदको सबैभन्दा ठूलो उत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण यसपटक तपाईंहरूको प्रदेशमा आयोजना हुँदैछ। यस्को औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन्। राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनुहुनेछ।’
कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भको आयोजना गर्न लागेको पनि उनले बताए। ‘यस प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। साथै, खेलकुदको माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउनसमेत महत्वपूर्ण भूमिका खेल्नेछ त्यसैले तपाइँहरु नागरिकस्तर बाटै यस खेलकुदलाई साथ समर्थन गर्नु हुनेछ भन्ने अपेक्षा राख्दछु,’उनले भने।




