पाँच दशक लामो राजनीतिक यात्रा गरेका मोदी र पाँच वर्षमै प्रधानमन्त्री बनेका बालेनबीच आज भेटवार्ता, दुई पुस्ताका नेतृत्वको संवादलाई चासोका साथ हेरिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुँदैछ। करिब पाँच दशक लामो राजनीतिक यात्रा गरेका मोदी र सक्रिय राजनीतिमा प्रवेश गरेको पाँच वर्षमै नेपालको प्रधानमन्त्री बनेका बालेनबीचको भेटलाई दुई पुस्ताका नेतृत्वबीचको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ।

दुई दिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहको भ्रमणको मुख्य कार्यसूची नै भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता, संवाद र आपसी सहमतिमा केन्द्रित छ।

संयोग के छ भने, आठ वर्षअघि भारतको कर्नाटकस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका बालेन अहिले त्यही देशमा नेपालको प्रधानमन्त्रीका रूपमा राजकीय भ्रमणमा पुगेका छन्। सोमबार हुने भेटवार्ता नेपाल–भारत सम्बन्धको समीक्षा र सहकार्य विस्तारसँगै दुई फरक पुस्ताका नेतृत्वबीचको संवादका दृष्टिले पनि चासोको विषय बनेको छ।

राजनीतिक पृष्ठभूमि र नेतृत्वमा उदय हुने शैली फरक भए पनि दुवै नेताले जनमत र व्यक्तिगत लोकप्रियतालाई राजनीतिक शक्तिमा रूपान्तरण गरेका छन्। बालेन जेनजी आन्दोलनपछि उदाएको नयाँ राजनीतिक पुस्ताका प्रतिनिधि हुन्। इन्जिनियरिङ पृष्ठभूमिका उनी संगीत र र्‍यापमार्फत सामाजिक विकृति, भ्रष्टाचार तथा राजनीतिक बेथितिमाथि प्रश्न उठाउँदै चर्चामा आएका थिए।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन पछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेर संसद् पुगेका हुन्। उनको राजनीतिक उदयमा व्यक्तिगत लोकप्रियता र युवा पुस्ताको समर्थन महत्त्वपूर्ण मानिन्छ।

यता भारतीय प्रधानमन्त्री मोदी भने राष्ट्रिय स्वयंसेवक संघ अर्थात् आरएसएसको संगठनात्मक पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएका नेता हुन्। भारतीय जनता पार्टीको नेतृत्व गर्दै सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका मोदी अहिले तेस्रो कार्यकालमा छन्। सार्वजनिक अभिव्यक्ति र राजनीतिक सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने शैली उनका राजनीतिक विशेषताका रूपमा चर्चामा रहने गरेको छ।

बालेन कम बोल्ने र सांकेतिक अभिव्यक्ति दिने नेताका रूपमा चिनिन्छन् भने मोदी सार्वजनिक अभिव्यक्तिमा सक्रिय र आफ्नो राजनीतिक सन्देशलाई स्पष्ट भाष्यमा प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन्।

यस भेटवार्तालाई नेपाल–भारत सम्बन्ध सुधारको अवसरका रूपमा पनि हेरिएको छ। विगतमा नाकाबन्दी, सीमा विवादलगायतका घटनाले दुई देशबीच अविश्वास र असमझदारी बढाएको पृष्ठभूमिमा नयाँ नेतृत्वसँगको संवादलाई दुवै देशले महत्त्व दिन सक्ने देखिन्छ।

नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा महत्त्वपूर्ण पारवहन मार्ग हो। नेपालको अर्थतन्त्र, ऊर्जा व्यापार, आपूर्ति व्यवस्था र रोजगारीका अवसरमा भारतको महत्त्वपूर्ण भूमिका छ। अर्कोतर्फ, जलस्रोत, हिमालय क्षेत्रको सुरक्षा, क्षेत्रीय स्थिरता र चीनसँगको भौगोलिक सम्बन्धका कारण नेपाल भारतका लागि पनि रणनीतिक महत्त्वको छिमेकी हो।

यस्तो अवस्थामा सोमबार हैदरावाद हाउसमा हुने बालेन र मोदीबीचको भेटवार्ताले दुई देशबीचको आपसी विश्वास, कूटनीतिक सम्बन्ध र आगामी सहकार्यलाई कुन दिशामा अघि बढाउँछ भन्ने विषय चासोका साथ हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी