काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ ले भारतलाई ४८ रनले पराजित गरेको छ। हसन नवाजको उत्कृष्ट अलराउन्ड प्रदर्शनसामु तिलक वर्माको शतक ओझेलमा परेपछि पाकिस्तानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो।
पाकिस्तानले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको भारत अन्तिम ओभरमा २ सय ६५ रनमै अलआउट भयो। भारतका लागि तिलक वर्माले शतकीय इनिङ्स खेल्दै १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
सुरुवातमा निकै सुस्त ब्याटिङ गरेका तिलकले ३६ बलमा ८ रन मात्र बनाएका थिए। तर, त्यसपछि लय समात्दै उनले ९५ बलमा आफ्नो अर्धशतक पूरा गरे भने अन्तिममा शतक प्रहार गरे।
भारतका ओपनर अभिषेक शर्माले ४२ बलमा ७० रन बनाउँदै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। उनको विकेट पतनपछि भने भारतीय ब्याटिङ धर्मरायो। भारतले १२९ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो।
संकटमा परेको भारतका लागि तिलक वर्मा र शहबाज अहमदले सातौँ विकेटका लागि शतकीय साझेदारी गर्दै जितको आशा जगाएका थिए। शहबाजले ४१ बलमा ५६ रन बनाए। तर, ४४औँ ओभरमा उनी आउट भएपछि भारतको जित्ने सम्भावना कमजोर बनेको थियो।
त्यसपछि अली रजाले लगत्तै अर्को बलमा विप्राज निगमलाई बोल्ड गर्दै पाकिस्तानलाई खेलमा बलियो अवस्थामा पुर्याए।
पाकिस्तानका लागि हसन नवाज र अली रजाले समान ३–३ विकेट लिए। नवाजले ४५ रन खर्चिए भने रजाले ५६ रन दिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सबै विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो। पाकिस्तानका लागि हसन नवाजले सर्वाधिक ७९ रन बनाए। यस्तै, माज सदाकतले ५९ तथा फरहान युसुफले ४८ बलमा ५६ रनको योगदान दिए।
ओपनर शामिल हुसेन र माज सदाकतले ६६ रनको आक्रामक साझेदारी गर्दै पाकिस्तानलाई राम्रो सुरुवात दिलाएका थिए। भारतका आयुष बडोनीले लगातार दुई विकेट लिएर पाकिस्तानको रनगति रोक्ने प्रयास गरे पनि नवाज र कप्तान अब्दुल समदले ६५ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए।
भारतका लागि सूर्यान्श शेड्गे र विप्राज निगमले समान २–२ विकेट लिए।




