ट्रम्प प्रशासनद्वारा चीन सहित १४ वटा देशमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घसहित १४ देश तथा व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले घोषणा गरेको नयाँ शुल्क अन्तर्गत चीनबाट आयात हुने वस्तुमा अधिकतम ४० प्रतिशत, भियतनाममा ३५ प्रतिशत तथा अन्य देशमा २० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क लाग्ने बीबीसीले जनाएको छ ।

नयाँ शुल्क आउँदो वर्ष अर्थात अर्को महिनादेखि मात्रै कार्यान्वयनमा आउने छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले यसअघि घोषणा गरेको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गएको मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान थालेको थियो । त्यही अनुसन्धानका आधारमा नयाँ शुल्क घोषणा गरेको हो ।

नयाँ शुल्कबाट चीन, युरोपेली सङ्घ, सिङ्गापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बङ्गलादेश, जापान र भारत प्रभावित हुनेछन् ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई दिगो मार्गमा अघि बढाउने दाबी गर्नुभएको छ । तर, अर्थशास्त्रीहरूले भन्सार शुल्कका कारण आयातित वस्तुको लागत बढ्ने, त्यसको भार उपभोक्तामा पर्ने र महँगी बढ्न सक्ने चेतावनी दिएका छन् ।

यस घोषणाले विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको व्यापारिक तनाव थप बढ्न सक्ने देखिएको छ । यसैबीच, युरोपेली आयोगले अमेरिकाको नयाँ शुल्कप्रति असहमति जनाउँदै यसबारे अध्ययन गर्ने जनाएको छ । आयोगले यसअघि भएको सहमतिअनुसार अमेरिकी भन्सार शुल्क १५ प्रतिशतमा सीमित हुनुपर्ने जनाएको छ ।

यसअघि अमेरिकाले ५ महिनाअघि सन् २०२६ जुलाईमा ६० वटा प्रमुख व्यापार साझेदार देशहरूबाट आयात हुने सामानमा १० देखि साढे १२ प्रतिशतसम्म भन्सार शुल्क लागू गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्